झापा । झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन् ।
मेचीनगर-६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड-५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी हुन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।
त्यस्तै, बिर्तामोडमा पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उनको कोठाबाट डिजिटल तराजु, छुरी, कैँची र नगद रु १३ लाख ३९ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर-२ का २३ वर्षीय सचिन राई, दमक-७ की ३० वर्षीया मिना राई, सोही ठाउँकी २६ वर्षीया प्रतिमा राई र मेचीनगर-१५ की ३६ वर्षीया पार्वता राजवंशी रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया