२० बैशाख २०८१, बिहिबार | May 2, 2024

च्याउमा आत्मनिर्भर बन्यो झापा



झापा । कनकाई नगरपालिका-६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । उनी च्याउ बेचेरै वार्षिक छ लाख रुपैयाँ मुनाफा आर्जन गर्छन् ।

११ वर्षअघि आफूसँग भएको पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको २५ हजार रूपैयाँ लगानी गरेर बनाएको एउटा टहराबाट उनले च्याउखेती सुरु गरेका थिए ।

एउटा टहरामा ४५० पोका च्याउले आम्दानी दिन सुरु गरेसँगै उनमाउत्साह बढ्यो। थप डेढ बिघा जमिन भाडामा लिएर १० वटा टहरामा व्यावसायिक खेती गरे । अहिले उनले १० टहरामा सात हजार पोका च्याउको व्यावसायिक खेती गरिरहेका छन् ।

दधिरामजस्तै झापाका २० भन्दा बढी किसान च्याउको व्यावसायिक खेतीमा रमाइरहेका छन् । जिल्लामा वार्षिक तीन सय मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

एक दशक अघिसम्म सीमित फार्ममा पाइने च्याउ अहिले गाउँ-गाउँमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । २०० मेट्रिक टन च्याउ जिल्लामा खपत हुने गरेको र अरु जिल्ला बाहिरका बजारमा बिक्री हुँदै आएको छ । जिल्लामा च्याउखेती गर्ने सयौँ किसानले यसबाट रोजगारीको अवसर पाएका छन् ।

जिल्लामा कन्ये, गोब्रेलगायतका च्याउखेती हुँदै आएको छ। विगतमा भारतबाट च्याउको बिउ ल्याएर खेती गर्दैै आएका किसानले हाल विर्तामोडको पाथीभरा च्याउ उद्योगमा उत्पादित च्याउको बीउ प्रयोग गरिरहेका छन् । जिल्लामा करिब २५ वर्षअघि कनकाई नगरपालिकाका गोपाल खत्रीले च्याउखेती सुरु गरेका थिए । उनले कसम च्याउ उद्योग सञ्चालनमा ल्याएको देखेपछि अरुले पनि खेतीको सिको गरेका थिए ।

‘थोरै लगानी अनि अलि बढी मेहेनत गर्दा हुँदोरहेछ’, च्याउ किसान दधिराम किसान न्यौपानेले भने, ‘बजारको पनि समस्या छैन आम्दानी पनि छिट्टै दिन्छ । खुसी र सन्तुष्ट छु, च्याउखेतीबाट ।’ कन्ये र मिल्की ह्वाइट जातको च्याउखेती गर्दै आएका न्यौपानेले उत्पादन गरेको कन्ये च्याउ विर्तामोडस्थित कृषि थोक बजारमा प्रतिकेजी रु १६० र मिल्की ह्वाइट ३०० मा बिक्री हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रले किसानलाई च्याउखेतीका लागि प्रोत्साहन गर्न आर्थिक वर्ष २०७८/७९ मा रु १७ लाख ६९ हजार चार सय ५० रकम अनुदान उपलब्ध गराएको जनाएको छ । जसमध्ये विर्तामोड नगरपालिकामा रहेको पाथीभरा च्याउ उद्योगले ५० प्रतिशत अनुदानमा रु १३ लाख तीन सय प्राप्त गरेको छ । च्याउको बीउ उत्पादन गर्दै आएको पाथीभराले १२ साना किसानलाई समेत समेटेर च्याउ ब्लक विकास कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले एक वर्षमा १८ किसानले च्याउखेतीमा अनुदान पाएको जानकारी दिए । उनले युवालक्षित कार्यक्रमअन्तर्गत ओमशान्ति क्वालिटी च्याउ उद्योग कचनकवललाई ८७ हजार, रीता च्याउ उद्योग दमकलाई ८४ हजार ६८०, प्रतिक च्याउ उद्योग अर्जुनधारालाई ८५ हजार २००, शान्ति च्याउ उद्योग गौरादहलाई एक लाख र श्रेष्ठ च्याउ उद्योग दमकलाई एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको जानकारी दिए ।

‘बजारको समस्या नहुने, घरबाटै बिक्री हुने र आम्दानी पनि छिटो दिने भएकाले किसानको आकर्षण बढेको छ’, उनले भने । प्रोटिनयुक्त च्याउ सबै उमेरका उपभोक्ताका लागि रुचिकर हुने गरेको छ । एकपटक खेती गरेको च्याउले तीन पटकसम्म राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा किसानले च्याउखेती रोज्ने गरेका छन् ।

जिल्लाको विर्तामोडमा उत्पादित च्याउको विजनले प्रदेश १ को झापा, मोरङ, सुनसरी, इलामसहित पोखरा र काठमाडौंमा समेत बजार पाउने गरेको छ। पाथीभरा च्याउ उद्योगका सञ्चालक राम खत्रीले दैनिक २७ हजार रुपैयाँको च्याउ बीउ उत्पादन गर्दै आएको बताए ।

उद्योगको ल्याबमा दुई प्राविधिकसँगै अन्य १२ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ०६ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका