नेपालगन्ज । लुम्बिनी प्रदेशको १० जिल्ला कुष्ठ रोगको जोखिममा रहेको पाइएको छ ।
नेपाल सरकारको प्रतिवेदन आर्थिक बर्ष ०८०/०८१ र ०८१/०८२ मा करिव २५०० को हाराहारीमा कुष्ठरोगका नयाँ विरामी पत्ता लागेका छन् । पत्ता लागेका बिरामीमध्ये करिव २५ प्रतिशत लुम्विनी प्रदेशमा मात्रै रहेका बिरामी रहेको आइएनएफ,साइनिङ, अस्पताल, बाँकेले जनाएको छ ।
मधेस प्रदेशपछि लुम्बिनी प्रदेशलाई दोस्रो उच्च जोखिम रहेको प्रदेशका रुपमा लिन सकिने आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा. अरुण कुमार बुढाले जानकारी दिए ।
कुष्ठ रोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला साइनिङ अस्पताल, बाँकेको सेवाक्षेत्रभित्र पर्छन । लुम्बिनी प्रदेशमा बालवालिकामा समेत कुष्ठ रोगको प्रभाव देखिएको र त्यस्तो सङ्ख्या उच्च रहेको उनाँले बताए ।
निर्देशक डा. बुढाले भने “यहाँ रोगको पहिचान ढिलो भइरहेको छ, यसको प्रमुख कारण गरिबी, पहुँचको अभाव, समाजिक भेदभाव र लाञ्छना हो ”
उनँले बाँकेको अस्पताललाई लुम्बिनी प्रदेश र पश्चिम नेपालकै कुष्ठरोग तथा उष्ण उपेक्षित रोगहरुका सेवाको क्षेत्रीय हबका रुपमा विकास गर्ने योजना अघि बढाइएको उल्लेख गर्दै यस अस्पताल, कर्णाली, लुम्विनी र सूदुरपश्चिमलाई जोडने माध्यम हुने अपेक्षा गरिएको बताए । अहिले यस अस्पताललाई क्षेत्रीय रेफरल केन्द्रका रुपमा सञ्चालित गरिएको छ तथा यस योजना नेपाल सरकारको शुन्य कुष्ठ रोग रणनीतिसँग सम्वन्धित भएको निर्देशक बुढाको भनाई छ ।
जोखिममा रहेका बिरामीलाई लक्षित गरेर बाँकेको जानकी गाउँपालिकास्थित मानपुरमा रहेको साइनिङ् अस्पताल,आइएनएफ, बाँकेलाई थप सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न थालिएको छ । अस्पतालका अनुसार खास गरी रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, बर्दिया लगायतका जिल्ला कुष्ठरोगको जोखिममा रहेका छन् ।
अहिलेसम्म हरियोखर्क अस्पताल, आइएनएफ, पोखरा, साइनिङ अस्पताल, सुर्खेत र साइनिङ अस्पताल, बाँकेका तीन अस्पतालबाट ६ हजार ७९ जना बिराीले निशुल्क उपचार सेवा लिएका छन् ।
साइनिङ अस्पताल, बाँकेको अन्तरङग सेवाका लागि भवन निर्माणाधिन अवस्थामा रहेको छ । यसमा पाँच वार्डहरुमा २५ बिरामीलाई राख्न सकिने छ भने व्हील चेयरमैत्री शौचालय, नर्सिङ स्टेशन, उपचार कक्ष, औषधी भण्डारण लगायतका आवश्यक सुविधा हुनेछन् ।
यस अस्पताललाई निरन्तर सञ्चालन गर्न छाला रोग विशेषज्ञ, थेरापिष्ट, कृत्रिम अङ्ग तथा जुत्ता प्रविधि, दक्ष कर्मचारी आवश्यक हुने निर्देशक बुढाको भनाई छ । अपाङता पुर्नस्थापना नेपालका लागि झन ठूलो चुनौतीका रुपमा विद्यमान रहेको उल्लेख गर्दै उनले नसर्ने रोगको प्रकोप लिएर आउने अपाङता पनि चुनौतीपूर्ण रहेको बताए । सो अस्पतालले लुम्विनी प्रदेशसँगै, कर्णाली र सूद्रपश्चिम प्रदेशका कुष्ठरोगी विरामीका लागि सेवा दिने गर्छ ।
अन्र्तराष्ट्रिय आइएनएफका कार्यकारी प्रमुख रिचर्ड रिभले नेपालमा कुष्ठरोगका लागि ठूलो धन राशी खर्च गरिरहेको उल्लेख गर्दै आशातित उपलब्धी हासिल भएको बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र रोकाले प्रदेश सरकार अस्पतालसँग सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।
















प्रतिक्रिया