८ असार २०८३, सोमबार | June 22, 2026

बुटवलमा पहिलो पटक भक्तपुरको घिन्ताङ घिसी जात्रा प्रदर्शन गरिँदै



बुटवल । काठमाडौँ उपत्यकामा मनाइने गाईजात्रा अन्तर्गतको घिन्ताङ घिसिङ नृत्य बुटवलमा पनि प्रदर्शन गरिने भएको छ । यस अघि काठमाडों उपत्यकामा मात्र सिमित रहेको घिन्ताङ घिसीङ नाच पहिलो पटक बिहिबार बुटवलमा प्रदर्शन गर्न थालिएको हो ।

पुरानो बटौलीको गणेश मन्दिरबाट बिहिबार बिहान ८ बजे नेवारी परम्पराको बिभिन्न बजागाजा सहित घिन्ताङ घिसी नाच प्रदर्शन गरिने नेवा: सेवा समिति बुटवल १ र २ का अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए । गणेशस्थानबाट सुरु हुने नाच जितगढी, कालिका मन्दिर हुँदै नवदुर्गा मन्दिर पुल्चोकमा पुगेर समापन हुने अध्यक्ष श्रेष्ठले बताए ।

घिन्ताङ घिसी नाच पृथक, मनोरञ्जनात्मक एवम् व्यङ्ग्यात्मक हुने गर्छ । ‘गिनित्वाङ, गिनित्वाङ, घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’ भनेर नाचिने आकर्षक घिन्ताङ घिसी नाचको चर्चा पनि यस अवसरमा बढी हुने गर्छ ।

एक वर्षभित्र मरेका आफन्तको दिवङ्गत आत्माले मोक्ष प्राप्त गरून्, गाईको पुच्छर समातेर वैतर्णी तर्दै स्वर्ग जाउन् भन्ने उद्देश्यले प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाइन्छ । हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने गरेकामा मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि खुल्ने गर्छ । त्यस दिन मृतात्माले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको जनविश्वास रहँदै आएको छ ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक भनाइ छ । गाईजात्रा पर्व विक्रमको १४ औँ शताब्दीभन्दा अगाडि सुरु भएको अनुमान गरिएको छ ।

नेवार समुदायमा गाईजात्राका दिन वर्ष दिनभित्र मरेकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा बनाई परिक्रमा गर्ने र उमेर पुगेका ठूला व्यक्तिको मृत्यु भएमा भने १५ हात लामो बाँसको ताहमचा बनाई नगर परिक्रमा गर्ने परम्परा छ । गाईजात्रामा कतिपयले करुणरस प्रधान गीतिलीला रामायणसमेत प्रदर्शन गर्छन् । केहीले कालोमाटोको गाई बनाई शृङ्गारपटारका साथ खटमा राखी केटाकेटीलाई आकर्षक तवरले सिँगारी बाजागाजासाथ बासा लुइके गरेर प्रदर्शन गर्ने प्रचलन छ ।

कतिपयले मृतक परिवारका घरबाट बालबालिकालाई शिव पार्वतीको प्रतीकका रुपमा शृङ्गारपटार गरी ल्याउने गर्छन् । यस्ता बालबालिका भने कर्म नचलिसकेका कलिला बालबालिका हुनुपर्ने मान्यता रहेको छ ।

आर्थिक अवस्था कमजोर हुनेले पनि कुमारकुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ ।

जात्रामा विभिन्न हास्यव्यङ्ग्य चित्रसमेत हात हातमा बोकेर प्रदर्शन गरिएको छ । गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरि खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको पनि बताईन्छ । यस दिन पाप गरे मृत्युपछि पनि सोही कर्म भोग्नुपर्छ भन्ने विश्वासका आधारमा आजको दिन कसैले पापकर्म गर्न नहुने भनाइ छ । त्यस दिन दिवङ्गत आफन्तको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि रहिआएको छ ।

जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिने प्रचलन छ ।

नेवार समुदायमा सातदिनसम्म घिन्ताङ घिसी नाच, हनुमान नाच, माक प्याखं (बाँदर नाच), लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच, विभिन्न व्यङ्ग्यात्मक प्रस्तुति गरी कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी गाईजात्रा समापन गरिन्छ ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ८ : ०६ बजे

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति