काठमाडौं । यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्न माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा यातायात व्यवसायीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका हुन् ।
नेपालका न्यून तथा मध्यम वर्गीय व्यवसायीको रु १० खर्बभन्दा बढी लगानीलाई सुरक्षित गर्न र यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले बताए ।
‘न्यून तथा मध्यम वर्गीय व्यवसायीको पूँजीलाई व्यवस्थित गर्दै यातायात क्षेत्रमा रोजगारी बढाउनका लागि अधिकार सम्पन्न प्राधिकरण निर्माणको माग गरेका हौँ’, उनले भने ।
यस्तै व्यवसायीले सवारीसाधनका लागि यसअघि लगाउँदै आएको २० वर्षे अवधि हटाएर सवारीको इञ्जिनको क्षमताका आधारमा सञ्चालन गर्न दिनसमेत माग गरेका छन् ।
हाल देशभर चार लाखभन्दा बढी सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएको र उक्त सवारीसाधनमा प्रत्यक्ष ११ लाख र अप्रत्यक्ष रुपमा करिब ४० लाख जनतालाई रोजगारी सिर्जना गरेको महासङ्घले जनाएको छ ।
व्यवसायीले मंगलबार नै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत उक्त माग राखेर ज्ञापन पत्र बुझाएका थिए ।



















प्रतिक्रिया