१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’


२६ माघ २०७९, बिहिबार  

247
Shares

झापा । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ ।

उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौं काँकरभिठ्ठा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलले बताए ।

उनले मुलुकमै चिया निर्यातबाट वार्षिक तीन अर्ब बढी रकम भित्रिरहँदा पनि सरकारको स्वदेशमै प्रयोगशाला स्थापनाको पहल नगरेको गुनासो गरे । “चिया उद्योगप्रति सरकारको व्यवहार विभेदपूर्ण छ,” उनले भने–“भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिँदैन, त्यति टाढा कोलकाता पु¥याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ ।” सरकारले चाहने हो भने प्रयोगशाला राख्नु कुनै ठूलो समस्या नभएको उनको भनाइ छ ।

नेपाली चिया उत्पादकहरुले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त ल्याब खोल्न सरकारसँग पटक–पटक माग गरेका छन् । मुलुकमित्र चियाको गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको मित्तलले गुनासो गरे । मुलुकको आर्थिक सूचकाङ्कमा चिया उद्योग सफल उद्योगको रुपमा चित्रित भए तापनि सरकारको नीति र दृष्टिकोण भने सकारात्मक नभएको साना किसान चिया सहकारी सङ्घका अध्यक्ष हर्क तामाङको आरोप छ ।

भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेकै मूल्यको आधारमा ५० वर्षदेखि एउटै मूल्यमा नेपाली उद्योगी, व्यवसायी चिया बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड विर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले निर्यात हुने नेपाली चियाले भारतको कोलकातास्थित सेन्टर फुड ल्याबमा गुणस्तर परीक्षण गराएर मात्र निर्यातको अनुमति पाउँदै आएको बताए । उनले नेपालको कूल चिया उत्पादनको ९९ प्रतिशत प्रदेश नं १ मै उत्पादन हुने हुँदा चिया परीक्षणको ल्याब स्थापना गर्ने तयारी भइरहेको बताए ।

उनले मुलुकमै गुणस्तर परीक्षण गर्ने ल्याब सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्यसमेत पाउने बताए । नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ । त्यसमध्ये १० हजार ५०० हेक्टर चियाखेती झापामै हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

हाल वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । कूल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाँकी सबै भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । बोर्डका अनुसार चिया निर्यातबाट बर्सेनी रु तीन अर्ब ८० करोड विदेशी मुद्राआर्जन हुने गरेको छ । चिया क्षेत्रमा ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ वटा सिटिसी गरी ६८ ठूला चिया उद्योग सञ्चालनमा छन् । एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् । नेपालमा एक सय ६० भन्दा बढी चिया बगान रहेका छन् । चिया खेतीमा १५ हजार भन्दा बढी साना किसान आवद्ध छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  २ : ३६ बजे

नयाँ कार्यसमिति अद्यावधिकका लागि कांग्रेसद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार

वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिँदै

नेपालगन्ज । नेपालगञ्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिने

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार