५ श्रावण २०८३, मंगलबार | July 21, 2026

डम्फू र मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै



महोत्तरी । ‘होरी’ (फागु) पर्व आउन दुई दिन मात्रै छ । तर विगतका वर्षहरुमा देखिने फागुको रोमाञ्चकता तथा उत्साहपूर्ण पर्खाइ भने अहिले हराउँदै गएको छ ।

मिथिलामा फागुको स्वागतमा हार्मोनियमको मिठो राग, लय एवं डम्फू र मृदङ्गको तालमा जम्ने जोगिराको दलान देखिन छाडेको छ । श्रीपञ्चमी (वसन्तपञ्चमी) सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागुविशेष गीत) अब महोत्तरीसहितका मिथिलामा सुन्न छाडिएका छन् ।

श्रीपञ्चमी पर्व (माघ शुक्ल पञ्चमी) मा वसन्त उत्सव सुरु गरिएसँगै मृदङ्ग, हारमोनियम र डम्फू (जोगिराका वाद्यबादन) का तालमा प्रत्येक रात मिथिलाका बस्ती-बस्तीमा गाइने जोगिरा (फागुन उत्सवमा गाइने गीत) पछिल्ला दुई दशकयता कम सुनिन थालेको हो ।

मिथिलाका बस्तीरबस्तीमा टोलैपिच्छे घरदलानमा गवैया (गायक) का समूहले गाउने जोगिराले दिने फागु पर्व नजिकिएको सन्देस अब सुन्न छाडिएकोमा यहाँका बुढापाकाको चिन्ता छ । एउटा बस्तीका गवैया एक ठाउँ भेला भएर सामूहिक रुपमा गाइने जोगिराले होरी (फागु) को सन्देश दिन र उमङ्गित बनाउने विषय अब कथामा मात्रै भएको महोत्तरीको बर्दिवास नगरपालिका-९ पशुपतिनगरका पुराना जोगिरा गवैया ६० वर्षीय छठु महतोको भनाइ छ ।

“कुनै समय थियो जतिबेला हामी जोगिरा गाउन थालेपछि डेढ महिनासम्म पूरै बस्ती उमङ्गमा हुन्थ्यो”, महतोले विगत सम्झदै भने, “अहिले जोगिरा सुन्न मन व्यग्र हुन्छ ।” खासगरी विसं २०५२ मा माओवादी जनयुद्ध सुरु भएपछि सुरक्षाको चिन्ताका कारण एक ठाउँ जम्मा हुने र रमाइलो गर्ने चलन हटेको महतोको भनाइ छ ।

भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रउस मिसिएका शब्दावलिको संयोजनका जोगिरा (फागु गीत) सुन्न छाडिएपछि फागुपर्वको रौनक हराउँदै गएको यहाँका बुढापाकाको गुनासो छ ।

“हेर्नोस बाबु, अब फागु पर्व आउन केही दिनमात्र बाँकी छ, तर, फागु आउँदैछ भन्ने भान नै पर्दैन”, बर्दिवास नगरपालिका-९ पशुपतिनगरका ८० वर्षीया नथुनी महतोले दुःखेसो पोखे । जोगिरा गवैया समूहभित्रका पुरानो पुस्ता मर्ने र बुढ्याइँले घरको कुनामा थन्किने क्रमसँगै नयाँ पुस्ताले यो संस्कृतिबारे चासो नदिएपछि अब यो लोपकै अवस्थामा पुगेको महतोकै छिमेकी ७० वर्षीय धनीराम महतो बताउछन ।

आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीक मानिने फागु (होली) पर्वमा हास(परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिबिम्ब हुने जोगिरा सुन्न छाडिएपछि यो पर्व आउँदै गरेको छनक नै हुन छाडेको भङ्गाहा-३ का बासिन्दा नेपाली कांग्रेसका नगर सभापति ७५ वर्षीय रुपनारायण सिंह थारु बताउछन ।

‘हे डम्फाके चोट महलबीच पहुँचय, सुतली गोरिया चहक् उठय.. अही फागुन में १ जोगिरा.. सरररर !! (जब डम्फूको आवाज घरभित्र पुग्दछ, सुतेकी नवयौवना जाग्छिन् .. फागुमा) ख्यालठट्टा गर्न मैथिल सामाजिक स्वीकृति पाएको नाताबीच (साली-भिनाजु, देवर-भाउजु, सोल्टा-सोल्टी) बीच जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृङ्गारिक गीतका भावले आउँदो होरीमा फागु खेल्न आउने चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वर सुनिन छाडेको महोत्तरीकै एकडारा गाउँपालिकाको भटौलियाका बासिन्दा विजयकुमार कर्ण बताउछन ।

सामाजिक छुवाछुत, उचोनिचो जात र भिन्नभिन्न धर्मसंस्कृतिभन्दा माथि उठेर एक अर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देस दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गाइने जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको कर्णले चिन्ता व्यक्त गरे ।

ख्यालठट्टा गरिने नाताबीचका नवयौवना मात्र नभइ गवैया समूहबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन । ‘कई हाथ के धोती पहिरेई, कई हाथ के लपेटा, कई धार के पानी पिए, कई बाप के बेटा..! जोगिरा.. सररर…!!’ एकपक्षले अर्कोपक्षलाई ‘कई बापके बेटा’ (कतिवटा बाबुको छोरा) भनेर गीतमार्फत नै सोधिने भाव जोगिराबाहेक अरु बेला कल्पना पनि गर्न नसकिने मिथिला लोकसंस्कृतिका ज्ञाता जलेश्वर नगरपालिका-४ सुगाभवानीपट्टीका बासिन्दा पूर्वप्रशासक (सेवानिवृत उपसचिब) ८० वर्षीय कृष्णचन्द्र झा बताउछन ।

जोगिरामा कामोत्सव भाव, वीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरवबोध, अध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, माया प्रेम, उर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता र उमङ्गको भाव एकसाथ भेट्टाइने झा बताउछन ।

राजनीतिक अधिकारका लागि मिथिला क्षेत्रमा नयाँ पुस्ताको आन्दोलनमा सहभागिता देखिए पनि संस्कृतिको जगेर्ना र संरक्षणमा भने खासै उत्साह नदेखिएको बुढापाकाको टिप्पणी हुने गरेको छ । आउने दिनमा मैथिल युवाले यहाँको मौलिक संस्कृति जगेर्नामा ध्यान दिनसके मिथिला संस्कृति र सभ्यताको पहिचान झन चहकिलो हुँदै जाने शिक्षण पेसाबाट अवकास लिएका महोत्तरीको भङ्गाहा-७ मेघनाथगोरहन्नाका ६५ वर्षीय चन्द्रनारायण चौधरी ९थारु० को नयाँ पुस्तालाई सुझाव छ ।

मिथिलामा श्रीपञ्चमीसँगै जोगिरा सुरु हुने र मिथिला माध्यमिकी परिक्रमाको आठौं दिन महोत्तरीकै भङ्गाहा–९ कञ्चनवनमा राम सीताले अबीर खेलेको सम्झनामा यात्रीले रामजानकीलाई अबीर अर्पित गरी प्रसादस्वरुप एकअर्कालाई लगाइ दिएपछि रङ्गअबीरको पर्व विधिवत् सुरु भएको मानिने परम्परा रहँदै आएको छ ।

फागुन विशेषको जोगिरा मात्र नभएर दसैं पर्वको ‘ढोल’ बज्न र ‘झिझिया’ गीतको तान्त्रिक नृत्य पनि देखिन, सुन्न छाडिएको बुढापाकाको चिन्ता छ । पछिल्ला केही दशकयता त मिथिलाका मौलिक संस्कृति भनिने जोगिरा र झिझियाजस्ता परम्परा कहिलेकाँही एनजिओ/आइएनजिओ (गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था) का कार्यक्रममा प्रायोजित रुपमा देखिँदा झनै उदेक लाग्ने गरेको भङ्गाहा-३ का बासिन्दा पूर्वप्रशासक ८४ वर्षीय तेजनारायण सिंह थारु बताउछन ।

“हेर्नुहोस् बाबु, व्यक्तिरव्यक्ति नाच्ने, रोमञ्चित हुने र उत्सवमा रमाउने हाम्रा परम्परा अब नौला भएका छन्”, थारुले भने, “अचेल औपचारिक कार्यक्रममा देखाइने प्रायोजित झिझिया, जोगिरा र डम्फूको प्रदर्शनले त हामी मैथिललाई जिस्क्याएजस्तो लाग्छ ।”

यद्यपि यस्ता औपचारिक कार्यक्रममा देखाइने यी पारम्परिक सांस्कृतिक प्रदर्शनले नयाँ पुस्तालाई यी विषयमा सोच्न र तत्परता देखाउन भने सघाउने थारुको थप भनाइ छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १२ : ४५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं