२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

बज्न छाडे गाउँघरमा पञ्चेबाजा



ढोरपाटन । गलकोट नगरपालिका-२ का इन्द्रबहादुर दर्जी अहिले ५५ वर्षका भए । उनले पञ्चेबाजा बजाउन थालेको ४५ वर्ष पुगी सक्यो । दश वर्षकै उमेरदेखि बाजा बजाउन थालेका उनी अहिले पनि मेला महोत्सव, विवाह तथा व्रतबन्धमा पुग्छन । पञ्चेबाजाका रुपमा परिचित गलकोट क्षेत्रमा पछिल्लो समय बाजा बजाउने प्रचलन हराउन थालेकोप्रति दर्जी चिन्तित छन । केही वर्षयता आयातित विद्युतीय ‘साउण्ड सिस्टम’ले पञ्चबाजा ओझेलमा पर्न थालेका छन् । अचेल गाउँ बस्तीमा बाजाको आवाज निकै कम सुनिन्छन् ।

पञ्चेबाजाप्रति युवाले चासो नदिँदा लोप हुने खतरा बढेको हो । विशेष गरी दलित समुदायले बजाउँदै आएको पञ्चेबाजा अहिले अन्य समुदायका कलाकारले पनि बजाउन थालेका छन् । बाजा बजाउने दलित समुदायको पुख्यौली पेसा भए पनि अहिले नयाँ पुस्ताले चासो दिएको पाइँदैन । पञ्चेबाजा लोप हुने अवस्थामा पुगेपछि गलकोट नगरपालिकाले यसको संरक्षणमा ध्यान दिएको छ । बाजा बजाउने दलित समुदायकालाई प्रोत्साहनस्वरुप बाजालगायतका आवश्यक सामग्री सहयोग गर्दै आएको छ । नगरपालिकाले आवश्यक सामग्री प्रदान गरे पनि पञ्चेबाजाको लोकप्रियतामा कमी हुँदै गएको छ ।

इन्द्रबहादुरले गाउँमा युवा नहुँदा बाजा बजाउने समुह नै नपुग्ने गुनासो गर्छन । पहिले गाउँमा बाजा बजाउने धेरै समूह हुने गरेको र माग पनि धेरै आउने गरेको जनाउँदै अहिले माग पनि घटेको र बजाउने कलाकारको समेत अभाव हुँदै गएको उनले बताए । धेरैजसो युवा विदेश गएको र गाउँमा भएकाले बाजा बजाउन लाज मान्ने गरेको दर्जीको भनाइ छ । अहिलेसम्म बूढापाकाकै भरमा पञ्चेबाजा संरक्षित भएको जनाउँदै आफूहरुको हात पाखुरा बसे भने यो संस्कृतिनै हराउन सक्ने उनको चिन्ता छ ।

दर्जी भन्छन, “बाजा बजाउने प्रचलन त हाम्रो जिजु बाजेदेखि चल्दै आएको रीति हो, हामीहरुले बाजा बाजाउन सिकेको होइन, हाम्लाइ त बाजाको ताल मिलाएर बजाउने ज्ञान ‘अटोमेटिक’ आउँछ, मैले नै बजाउन थालेको दशकौँ भयो, अहिले पनि बजाउँदै आएको छु, अहिले पहिलाको जस्तो माग आउँदैन, पहिले त धेरै ठाउँबाट बाजा बजाउनका लागि बोलाउँथे, अहिले त बजाउने मान्छेनै छैनन्, गाउँमा भएका तन्नेरी सबै लाहुर (विदेश) गए, हामी बुढा भयौँ, टाढा जान सक्दैनौँ, नजिक नजिक मात्रै बजाउँछौँ, बाजाको ताल सुन्नै गाह्रो हुन थाल्यो ।”

स्थानीय लालबहादुर परियारले पनि बाजा बजाउन थालेको ४० वर्ष भयो । ४९ वर्षीय परियार अहिले पनि धेरै ठाउँमा बाजा बजाउन पुग्छन । दिनप्रति दिन बाजा बजाउने समूहका सदस्य घट्दै गएको भन्दै परियारले दुई/चार वर्ष पञ्चेबाजा बजाउने प्रचलननै हराउन सक्ने बताउँछन । उनले पञ्चेबाजा बजाएर घर परिवार चलाएको सुनाउँदै आम्दानी पनि राम्रो हुने गरेको बताए । एक दिनमै एउटा समूहले रु ३५/४० हजार कमाइ गर्न सकिने उनको भनाइ छ ।

पछिल्लो समय मेला महोत्सव र विवाहमा रेकर्डिङ गीत बजाउने गरेको भन्दै पञ्चेबाजा ओझेलमा पर्न थालेको उनले बताए । पहिले विवाहको महिनामा कुनै दिन खाली नहुने गरेको स्मरण गर्दै अहिले हप्तामा एक पटक पनि काम नपाएको परियारको गुनासो छ । उनले पञ्चेबाजासँगै मौलिक संस्कृति र परम्परा पनि लोप हुँदै जान थालेको बताउँछन ।

“पहिले बाजा नबजाएसम्म विवाह हुँदैनथ्यो, मेला महोत्सव र पर्व रमाइलो हुँदैनथे, अहिले त बाजाको खास्सै वास्ता छैन, गीत सङ्गीतले गर्दा होकी, जमाना फेरिएर हो बाजाको महत्व घटेको छ”, उनले भने, “बाजा बजाएरै छोराछोरी हुर्काइयो, पढाइयो, अहिले कमाइ अरु केही छैन, हातमुख जोड्न पनि गाह्रो हुन्छ, कसैले बाजा बजाउन बोलाइहाले पनि समूह जम्मा गर्नै गाह्रो हुन्छ ।”

गलकोट नगरपालिका-२ का अध्यक्ष हिमबहादुर भण्डारीले पञ्चेबाजा गलकोटको पहिचान भएको जनाउँदै यसको संरक्षणका लागि पञ्चेबाजा समूहलाई रु तीन लाख बराबरको बाजा, कर्नाल र पोसाक उपलब्ध गराएको बताए । पछिल्लो समय पञ्चेबाजा हराउँदै जान थालेपछि यसतर्फ बाजा बजाउने समूह तथा समुदायलाई आकर्षण गर्नका लागि वडा कार्यालय समय-समयमा सहयोग गर्दै आएको बताए । अहिले यस क्षेत्रमा बाजा बजाउनेको सङ्ख्या पनि निकै कम भएको जनाइएको छ ।

अध्यक्ष भण्डारी भन्छन, “पञ्चेबाजासँग हाम्रो पहिचान जोडिएको छ, कला संस्कृति मासिनु भनेको मानव जातिको अस्तित्व सङ्कटमा पर्नु हो, त्यसले गर्दा यस्ता एतिहासिक महत्व बोकेका मौलिक संस्कृतिको संरक्षणमा हामीहरुले जोड दिएका छौँ, यहाँका पञ्चेबाजासँगै अरु मौलिक कला, संस्कृति प्रवद्र्धन गर्न हामीहरु लागि रहेका छौँ ।”

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : ३५ बजे

नेपाल भारत सीमा अन्तर्गत जमुनाहा नाका आज साँझबाट सिल

नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत

जेठ १ मा संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै

उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी बजेट ल्याउन व्यवसायीले केपी ओली गुहारे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई

कोशीका मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख

दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको