नवलपुर । उमेरले बुढ्यौली लागेपछि हिँडडुलमा समस्या हुने भए पनि गाउँघरमै स्वास्थ्य सेवा पाउँदा गैँडाकोटका ८६ वर्षीय नारायणप्रसाद सापकोटा दङ्ग छन । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-८ कार्यालयले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै स्वास्थ्य परीक्षणसहितको सेवा उपलब्ध गराएपछि उनी खुसी भएका हुन ।
“उमेर ढल्किदै गएपछि हामीलाई यताउता हिँड्डुन गर्न समस्या भएको छ”, उनले भने, “यसरी वडा कार्यालयले टोलमै स्वास्थ्य सेवा दिन थालेपछि स्वास्थ्य परीक्षण गर्न र औषधि उपचारका लागि सहज भएको छ ।” गाउँमै स्वास्थ्यकर्मी आएर स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि दिने गरेका सापकोटाले बताए ।
गैँडाकोट-८ कालिका टोलकी ८१ वर्षीया राममाया कँडेल यसअघि उपचारका लागि चर्को घाममा हिँडेर स्वास्थ्यचौकी तथा अस्पताल पुग्ने गर्थिन । अहिले घरआँगनमै उपचार पाउँदा खुसी लागेको उनले बताइन । “सामान्य उपचारका लागि हिँडेरै स्वास्थ्यचौकी वा अस्पताल पुग्नुपथ्र्यो”, उनले भन्निन, “अहिले घरमै स्वास्थ्य जाँचको सुविधा पाएका छौँ ।”
यसैगरी गैँडाकोट-८ की ७९ वर्षीया मनरुपा सापकोटाले कालिका मन्दिर कालिका आश्रममा पुगेर बुधबार स्वास्थ्य परीक्षण गराइन । उनलाई स्वास्थ्यकर्मीले औषधिसमेत उपलब्ध गराए । “बल्ल स्थानीय सरकार रैछ भन्ने आभास भएको छ”, उनले भने ।
गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति पालिका सचेत रहेको बताए । उनले गैँडाकोट-८ मा सुरु भएको यो कार्यक्रम नगरका अन्य वडामा पु¥याउने गरी कार्यविधि निर्माण भइरहेको बताए । ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउँदा अस्पताल पु¥याउन समस्या हुने भएकाले पालिकाले विशेषज्ञ चिकित्सकसहितको टोली घरमै पठाएर सेवा दिन थालेको उनको भनाइ छ ।
गैँडाकोट-८ का वडाध्यक्ष प्रेम सापकोटाले वडा कार्यालयको आर्थिक सहयोग एवं आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा वडाका हरेक टोलमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताए । वडाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा मात्रै नभएर अरु बेलामा पनि नियमित स्वास्थ्य परीक्षण गराउन उनले ज्येष्ठ नागरिकलाई आग्रह गरे । वडाका ११ वटै टोलमा पालैपालो नियमितरुपमा स्वास्थ्य शिविर सञ्चालन गरिने वडाध्यक्ष सापकोटाको भनाइ छ । शिविरमा रक्तचाप, मधुमेह, रुघाखोकी, ज्वरोलगायतका बिरामीलाई औषधिसमेत वितरण गरिएको थियो ।



















प्रतिक्रिया