८ मंसिर २०८३, मंगलबार | November 24, 2026

दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरी स्वास्थ्य परीक्षणको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश उपेन्द्र केशर खनालको इजलासले मंगलबार उनीहरूलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको हो । यसअघि उनीहरूलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको थियो ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुंगाना, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसहितको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि सीआईबीले उनीहरूलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी शुल्क असुल गरिएको खुलेको छ । म्याक्रोटेक प्रालिले बायो मेडिकल सर्भिस शुल्कका नाममा श्रमिकलाई अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य पार्दै रकम असुल गरेको आरोप छ ।

मेडिकल स्क्रिनिङका नाममा श्रमिकबाट असुल गरिएको १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउन चार पटक मन्त्रीस्तरीय निर्णय भएको अनुसन्धानमा देखिएको छ । उक्त निर्णय तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएको बताइएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौंका ३६ वटा मेडिकललाई तोकिएको थियो ।

२०७५ सालको अन्त्यतिरदेखि मलेसिया जाने श्रमिकसँग प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिट असुल गरिएको आरोप छ । तत्कालीन विनिमय दरअनुसार उक्त रकम नेपाली ३ हजार १६० रुपैयाँ बराबर थियो ।

यस प्रकरणमा यसअघि कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रविन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने रामपुकार तिवारी पक्राउ परेका थिए ।

सीआईबीले पक्राउ परेका सबैमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ७ : ४३ बजे

Your email address will not be published.

दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस

यातायात व्यवस्था कार्यालय बुटवलबाट सात जनालाई बिचौलियाको आरोपमा पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवल स्थित यातायात व्यवस्था कार्यालयबाट ७

रथी थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग

१५.३९ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाली सेयर बजारमा