१० पुस २०८२, बिहिबार | December 25, 2025

सूर्यविनायक-धुलिखेल सडक : पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र



काभ्रे । पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ ।

विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो ।

सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य तत्काल रोक्न आइतबार परिपत्र गरिएको विभागका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए । उनका अनुसार प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्नसमेत आग्रह गरिएको छ । यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाईसमेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचार गरेको छ ।

गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो ।

सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा-धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक-साँगा सडकखण्ड भने सात दशमलव पाँच किमि रहेको छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ ।

यस्तै विभागको आग्रहमा काभ्रेपलाञ्चोकको पाँचखाल नगर क्षेत्रमा भेटिएका ऐतिहासिक सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले तनि वर्षअघि सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । कार्यालयले सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो । विभागले भने सम्पदा क्षेत्रमा खनजोत गरे नगरेको निरीक्षण गर्दै आइएको जनाएको छ ।

पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा-सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि विभागले प्रारम्भिक चरणमा बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले ‘जियोफिजिकल सर्वे’ गरिसकेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ७ : ४४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन