११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड



चितवन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ ।

चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार तीन सय ५७ जनाले सेवा लिएका थिए । अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्कर चौधरीका अनुसार अन्य समयमा एक हजार दुई सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दथे ।

अस्पताल आएकामध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेका छन् । आइतबार भरतपुरमा रहेको मुख्य अस्पतालमा नौ सय ७३, सेकेण्डरी आँखा अस्पताल ठोरीमा ६६ , कावासोतीमा एक सय ९३ र सिम्रनगढमा एक सय दुई जनाले उपचार लिएका छन् ।

अस्पतालमा आवद्ध १४ आँखा उपचार केन्द्र छन् । तीमध्ये चिकुमार–विष्णुकुमारी बहिरङ्ग सेवा भरतपुर उकालोमा दुई सय ३८, पर्सामा एक सय ६३ , रत्ननगरमा एक सय २८ , माडीमा ९६ , चनौलीमा ६५ , राप्तीमा ६१ र कुरिनटारमा २५ जनाले सेवा लिएका छन् ।

यसैगरी धादिङको बेनिघाटमा १६ , सल्यानटारमा १३ , नवलपरासीको मध्यविन्दुमा ४४ , हुप्सेकोटमाम ४० , सिन्धुलीको दुधौलीमा १७ , तनहुँको आँबु खैरहनीमा ६३ र सर्लाहीमा ५५ जनाले सेवा लिएका वरिष्ठ प्रशासक चौधरीले जानकारी दिए ।

बिरामी बढेसँगै औषधिसमेत अभाव हुन थालेको छ । उनले औषधि खरिद गर्ने ठाउँबाट माग अनुसारको औषधि आपूर्ति हुन नसकेको बताए । अस्पतालले आफ्नो स्रोतसाधन र जनशक्तिलाई अधिकतम उपयोग गरेर सेवा दिँदै आएको उनले जानकारी दिए । हालसम्म चिकित्सक र स्वास्थ्यकर्मीमा रोग फैलिन ठूलो समस्या नदेखिएको उनको भनाइ छ ।

अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले रोग लाग्नुभन्दा बच्नु नै उत्तम भएको भन्दै सरसफाइ र सामाजिक दूरीमा ध्यान दिन आग्रह गरेकी छन् । उनले समय समयमा हात धुन, हातले आँखा नछुन, सङ्क्रमित बिरामीबाट टाढै रहन सुझाव दिइन् । उनले चिकित्सकको परामर्शपछि मात्रै औषधिको प्रयोग गर्नुपर्ने बताइन् । आफूखुसी औषधि किनेर प्रयोग नगर्न उनको सुझाव छ ।

नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठले मुख्य अस्पताल, तीन वटा सेकेण्डरी आँखा अस्पताल र १४ आँखा उपचार केन्द्रमा बिरामीलाई सकेसम्म सहजरुपमा उपचारको व्यवस्था मिलाइएको बताए । सबै बिरामीलाई एकै पटकभन्दा फरकफरक समयमा आएमा उपचार सहज हुने उनको भनाइ छ । अस्पताल आसपासका बिरामी दिउँसो २ बजेपछिको समयमा अस्पताल आउँदा भीड कम हुने उनको भनाइ छ । सबैलाई सजगता अपनाउन उनले अपिल गरे ।

सङ्घ सचिव केशव अधिकारीले औषधि आपूर्ति गर्न सम्झौता गरेका कम्पनीलाई आवश्यकताअनुसार औषधि उपलब्ध गराउन नसके सम्झौता खारेज गरिने जानकारी दिँदै आपूर्तिका लागि लाग्न आग्रह गरिएको बताए । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अत्यावश्यकबाहेक बिदा दिन रोकिएको उनको भनाइ छ । -रासस

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : ३३ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि