९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

लुलाङमा तीन महिनापछि बिजुली बल्यो



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा तीन महिनापछि बिजुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम साता बगाएको थियो । विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए ।

परियोजनाको मर्मत गरेर तीन महिनापछि मङ्गलबारदेखि विद्युत् आपूर्ति भएको लमसुुङका भक्त सिंकिजा पुनले जानकारी दिए । “दशैँतिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुसीयाली छाएको छ”, उनले भने, “परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको छ ।”

दरखोला दोस्रो लघुजलविद्युत् परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिकाले रु पाँच लाख ५० हजार र जिल्ला समन्वय समितिले रु पाँच लाख ५० हजार विनियोजन गरेका थिए । उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुुर गौचनले पहिरोले पुुरिएर भत्किएको विद्युत्गृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताए । परियोजना सञ्चालन भएपछि चारवटा बस्तीका तीन सय ७० परिवार लाभान्वित भएका छन् ।

“नहरबाट आएको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत्गृह र पेनस्टक पाइप बगाएको थियो”, गौचनले भने, “पेनस्टक पाइप, विद्युत्गृह र उपकरण परिवर्तन तथा मर्मत गरेर परियोजना पुनः सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौँ ।”

विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमजुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना तेस्रोपटक पहिरोको चपेटामा परेको छ ।

केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन् । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो । परियोजना पुनः सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न सहज भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक-पटक पहिराले लद्युुजलविद्युत् परियोजनामा क्षति गरेकाले लुलाङ, खोरिया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताए।

“नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि रु २० करोड बजेटको ठेक्का सम्झौता गरेको छ”, उनले भने, “लुलाङको विद्युत्सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौँ ।”

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : १८ बजे

नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह सञ्चालन भएन

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक

पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्मा क्षति

पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौं । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह