काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता तथा सांसद आज चीन भ्रमणमा जाँदैछन् । पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको हो ।
रास्वपाका अनुसार भ्रमणमा जान लागेको टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले आज बिहान ९ बजे विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा अनुभव आदानप्रदान तथा छलफल हुनेछ ।
यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने अवसरका रूपमा लिइएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
महामन्त्री आचार्यको नेतृत्वमा चीन भ्रमणमा जाने टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीलगायत सांसदहरू सहभागी छन् ।
टोलीमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् ।
चीन भ्रमणमा जानुअघि प्रतिनिधिमण्डलका सदस्यहरूले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका थिए ।
















प्रतिक्रिया