काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् । कार्यकारी निर्देशक थानीले राजीनामा दिएको स्वीकार गर्दै मन्त्री रमेश रिजालले राजीनामाको कारण भने आनफुलाई थाहा नभएको बताए ।
२७ मंसिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएको मन्त्री रिजालले बताए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले सिफारिस गरेको ३ जना मध्य थानीलाई सरकारले कार्यकारी निर्देशकको पदमा नियुक्त गरेको थियो । समितिले सुर्खेतका थानी सहित गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
थानीले निगममा एक वर्ष नौ महिना काम गरेर राजीनामा दिएका छन् । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजना अनुसार राजिनामा दिएको बताइएको छ । थानी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निकट नेता हुन् ।



















प्रतिक्रिया