३१ बैशाख २०८१, सोमबार | May 13, 2024

कैलाली–कञ्चनपुरमा चिसो बढ्दा जनजीवन प्रभावित, वीरगन्जमा एकसाता स्कुल बन्द



कञ्चनपुर । कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । बिहानदेखि दिउसो १२ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो ।
कुहिरो र हुस्सुकै कारण बजार क्षेत्रका पसल ढिलोगरी खुल्न थालेका छन् । बजार क्षेत्रमा बिहानीको समयमा हुने चहलपहलको कार्यमा समेत कमी आएको छ । हुस्सु र कुहिरोकै कारण सडक क्षेत्रमा ‘भिजिविलिटी’ कम हुँदा सडक दुर्घटना हुने सम्भावना बढ्दै गएको छ ।
“सडकमा पाँच मिटर परसम्म पनि बिहानीको समयमा कुहिरो र हुस्सुका कारण देख्न सकिने अवस्था हुँदैन”, ट्रयाक्टर चालक मानबहादुर डगौराले भने, “त्यही भएर बिहानै बालुवा बोक्न महाकालीतर्फ जान्थ्यौँ, हाल ढिलोगरी जाने गरेका छौँ, चिसो पनि त्यतिकै छ ।” पूर्वपश्चिम राजमार्गमा चल्ने यात्रुबाहक सवारीसाधन चालकले पनि हुस्सु र कुहिरोकै कारण निकै सावधानी पूर्वक सवारी साधन चलाउनुपर्ने अवस्था रहेको छ ।
विद्यालय जाने बालबालिका, बुढापाका, दीर्घरोगी, मजदुर, गन्तव्यमा जाने यात्रु चिसोबाट बढी प्रभावित भएका छन् । बिहानी कक्षामा पुग्ने विद्यार्थी चिसोका कारण कठ्याङ्ग्रिने समस्या हुन थालेपछि केही विद्यालयले ढिलोगरी कक्षा सञ्चालन गर्न थालेका छन् । विद्यालयमै आगो ताप्ने व्यवस्था गरिएको छ ।
चिसोका कारण बालबालिकामा निमोनिया, रुघाखोकी र वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या लिएर आउने बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दोरुपमा रहेको दीपनगर आधारभूत स्वास्थ्यचौकीका प्रमुख कृष्णराज जोशीले बताए।
उनले शीतलहरबाट जोगिनका लागि घर बाहिर निस्कँदा शरीरभरि न्यानो हुनेगरी बाक्लो कपडा लगाउने, जुत्तासँगै बाक्लो मोजा लगाउने, तातोपानी लगायतको तरल पदार्थ बढी खानुपर्ने उहाँको सुझाव छ । ओढ्ने बिछ्याउने न्यानो कपडाको अभाव हुँदा जिल्लाका विभिन्न शिविरमा बस्दै आएका भूमिहीन परिवारले चिसोमै रात कटाउने गरेको दुखेसो गरेका छन् ।
वनहरा शिविरमा बस्दै आएका मानध्वज लुहारले झोपडीको छाना बनाउन राखिएको प्लाष्टिकको त्रिपालभित्रबाट शीतका थोपा चुहिने गरेकाले कपडा भिज्दा कठ्याङ्ग्रिँदो चिसोमै रात कटाउनुपर्ने बाध्यता भएको बताउनुभयो । सामुदायिक वनबाट दाउरा ल्याउन नसक्दा झुपडीमा रातभरी आगो बालेर न्यानो गर्न नपाइएको उनको भनाइ छ ।
“चिसोका कारण बिरामी पर्न थालेपछि शिविरका अधिकांशले मजदुरी गर्न जान नसक्दा भोकभोकै बस्नुपर्ने अवस्था सिजना भएको छ”, उनले भने, “चिसोले शरीरमा न्यानो गर्ने कपडाको जोहो मिलाउन सकेका छैनौँ, त्यही भएर मजदुरी गर्न जानै सकिएको छैन ।” कैलाली र कञ्चनपुरमा एक हप्ताअघिदेखि बिहानी पख र साँझपख निकै चिसो बढेको छ ।
उता, विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगञ्ज महानगरपालिकाको आग्रहमा आजदेखि एक साताका लागि विद्यालय बन्द गरिएको छ  । हुस्सु र शीतलहरका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएकाले महानगरपालिकाले आजदेखि माघ १ गतेसम्म महागरभित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन लागाएको हो ।
महानगरपालिकाको शिक्षा समितिको हिजो बसेको बैठकले पुस २३ गतेदेखि माघ १ गतेसम्म महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएकोे शिक्षा अधिकृत हरि राउतले जानकारी दिए। कतिपय संस्थागत विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले त्यस्ता विद्यालयलाई परीक्षा सकिएपछि बिदा दिने निर्णय भएको उनको भनाइ थियो ।
यसैबीच एक्कासि बढेको शीतलहर र चिसोका कारण पर्साको जनजीवनमा असर पर्नाका साथै अस्पतालमा बिरामीको चाप बढेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण  रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी अस्पतालमा  बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनायो । दूधे बालकदेखि ६० वर्षसम्मका बृद्धबृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् ।  चिसो बढेकाले सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ ।
चिसोले बिरामी भएका दैनिक करिब ३० देखि ३५ जनासम्म उपचारका लागि आउने गरेको नारायणी अस्पतालका सूचना अधिकारी उदयनारायण सिंहले जानकारी दिए। दैनिक बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्याको अभावमा बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
रासस

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : ४८ बजे

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक

एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ताभित्र

स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसित चिनियाँ लगानीकर्ताले