२७ माघ २०८२, मंगलबार | February 10, 2026

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा


२६ फाल्गुन २०८०, शनिबार  

65
Shares

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे । उनीहरुले निरन्तर ढाका बुन्न थाले तर आफ्ना उत्पादनले बजार नपाउँदा अहिले निरास बनेका छन् ।

उत्पादित ढाकाले गोदाम भरिँदै गए पनि माग निकै कम हुने गरेको छ । ती सामग्री बेच्न उहाँहरु कहिले बुर्तिबाङ बजार त कहिले म्याग्दीसम्म पुग्छन् । लाखौँको लगानीका सामग्री गोदाममै थन्किएका उनीहरुको गुनासो छ । तमान गाउँको कल्याण आमासमूहले सञ्चालन गरेको उद्योगमा हाल १५ जना महिला आबद्ध छन् । विसं २०७५ मा सङ्गम परामर्श केन्द्र बागलुङले १५ दिने प्रशिक्षण दिएपछि उनीहरुले उद्योग सञ्चालन गरेका हुन्। प्रारम्भमा रु ४५ हजार लगानीमा सुरु गरिएको उद्योगबाट अहिले करिब रु सात लाखको सामग्री तयार भएका छन् । आफ्ना उत्पादनले बजार नपाउँदा आफैँले बोकेर ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता भएको समूहकी अध्यक्ष टीकादेवी बुढा घर्तीले बताइन ।

उद्योगबाट ढाकाको सल, टोपी, लुङ्गी, दोसल्ला, खादालगायत सामग्री उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । विगतको तुलनामा उत्पादनले बजार पाए पनि सोचेअनुसारको नहुँदा समस्या भएको घर्तीले बताउनुभयो । बिहान बेलुका घरका कामधन्दा गर्ने र दिउँसोको समय निकालेर उद्योगमा काम गर्दै आएको भन्दै उत्पादनले बजार नपाउँदा दुःख लाग्ने घर्ती बताउनुहुन्छ । उद्योगमा एक जनाले महिनाको ३५÷४० हजारको सामग्री तयार गर्ने गरेको सुनाउँदै बिक्री नहुँदा एक हजार पनि कमाउन मुस्किलपर्ने उहाँले गुनासो गर्नुभयो ।

“फुर्सदको समयमा काम गर्छौं राम्रो बजार हुन्थ्यो भने पूरै समय दिएर काम गर्ने थियौँ, तर समय निकालेर काम गर्दा पनि धेरै कपडाहरु बनाएका छौँ, एक जनाले हजारौँको काम गर्छौं, तर बिक्री नहुँदा कहिले त एक हजार पनि पाउन मुस्किल छ”, उहाँले भने, “सामानले कोठा भरिएका छन्, कहिलेकाहीँ नजिकैका ग्राहकहरु आएर सामान लैजानु हुन्छ, टाढाबाट भने आउनुहुन्न, बजार पाउन गाह्रो भएको छ ।”

समूहमा काम गर्दै आएकी जुनुमाया घर्तीमगरले सुरुमा निकै उत्साहित भएर काम गरेको भन्दै अहिले उत्पादनले बजार नपाउँदा जाँगर मर्दै गएको बताइन । आफूहरु विस्तारै राम्रो हुँदै जानेमा आशावादी भने रहेको उनको भनाइ छ । समयसमयमा गाउँपालिकाले प्रयोजनका लागि खरिद गरेर प्रोहोत्सान गरे पनि बजारीकरणका लागि पहल हुन नसकेको उनले बताइन। सरकारले बजारीकरणको व्यवस्थापन गरिदिए अझै धेरै महिलाले यसबाट स्वरोजगार हुने उनी बताउँछिन्।

उनले भनिन, “गाउँमा घुम्न आउनेले राम्रो लागेर टोपी, लुङ्गी, खादा र दोसल्ला किनेर लैजानुहुन्छ तर सोचेअनुसार बिक्री भएको छैन । समय मिलाएर हामी बजारमा पुग्छौँ, गाउँमा जान्छौँ, मेलापर्वमा अलिअलि बिक्री हुन्छ, बजारको मात्रै समस्या छ, अरु सबै हामीले मिलाएका छौँ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले महिला उद्यमीलाई मेशिनलगायत अन्य सहयोग गरिएको भन्दै बजारीकरणका लागि पहल थालेको बताए । समयसमयमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै आएको भन्दै उनले गाउँदेखि सहरसम्म आयातीत सामानको बढ्दो प्रयोगले स्थानीयस्तरमा उत्पादित वस्तुले बजार नपाएको बताए। उद्यमीलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने उनी बताउँछन् ।

“पालिकाकोतर्फबाट सुरुमा मेशिन सहयोग गरिएको छ, पालिकाकै सहयोगमा भवन निर्माण पनि भइरहेको छ, उहाँहरुलाई हामीले प्रथामिकताका साथ सहयोग गर्दै आएका छौँ यहाँका उत्पादनलाई हामीले प्राथमिकतामा राखेका छौँ, हामीले महिला उद्यमीलाई निरन्तर सहयोग गर्नेछौँ, मेला महोत्सवमा सामान बिक्रीका लागि लैजान यातायात खर्च र स्टल खर्चको बेहोर्ने योजना पनि बनाएका छौँ, उद्योगलाई थप व्यवस्थित बनाउनका लागि पालिकाले अध्ययन गरिरहेको छ”, उनले भन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १२ : ३८ बजे

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न

काठमाडौं महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन

दुर्घटना अपडेट : तामाकोशी नदीमा बस खस्दा ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

रामेछाप । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस

तामाकोशी नदीमा बस खस्यो, मानवीय क्षतिको आशंका

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको