३२ असार २०८३, बिहिबार | July 17, 2026

राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित विषयगत प्रतिवेदन सार्वजनिक



काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कलाई विश्लेषण गरी तयार गरिएका विषयगत प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

पछिल्लो जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको, वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतका दरले वृद्धि भएको, नेपालको पहिलोपटक १९६८ सालमा लिएको जनगणनासँग तुलना गर्दा अहिले करिब पाँच गुणाले जनसङ्ख्या वृद्धि भएको र जनसङ्ख्या वृद्धिदर यही कायम रहे नेपालको जनसङ्ख्या दोब्बरले वृद्धि हुन ७५ वर्ष लाग्ने तथ्याङ्क कार्यालयले जनाएको छ ।

पहाडी र हिमाली क्षेत्रका ३४ जिल्लाका वार्षिक जनसङ्ख्या ऋणात्मक र तराईका सबै जिल्लाका जनसङ्ख्या धनात्मक रहेको, सबैभन्दा बढी ऋणात्मक वृद्धिदर रामेछापमा माइनस एक दशमलव ६७ प्रतिशत र सबैभन्दा बढी काठमाडौँमा सात प्रतिशत वृद्धिदर रहेको तथा करिब दुई तिहाइ अर्थात् ६६ प्रतिशत जनसङ्ख्या नगरपालिका क्षेत्रमा रहेको आज सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी विसं २०६८ को तुलनामा समग्र साक्षरता दर नौ दशमलव छ प्रतिशतले वृद्धि भई ७६ दशमलव दुई प्रतिशत पुगेको, महिलाभन्दा पुरुष साक्षरता दर करिब १४ प्रतिशत बढी रहेको, पहाडमा सबैभन्दा बढी ८० दशमलव नौ र हिमाल तथा तराईमा लगभग बराबर अर्थात् ७३ प्रतिशत साक्षरता दर रहेको छ ।

त्यस्तै अन्य लिङ्गीको जनसङ्ख्या दुई हजार नौ सय २८ रहेको प्रतिवेदनमा उल्लेख छ । घर तथा परिवारको अवस्थासम्बन्धी प्रतिवेदनमा ६६ लाख ६० हजार आठ सय ४९ परिवारमध्ये ८६ प्रतिशत आफ्नै स्वामित्वमा भएको आवासीय एकाइमा, १२ दशमलव आठ प्रतिशत भाडाको घर र बाँकी सरकारी वा संस्थागत कार्यालयसहितका आवासीय एकाइमा बसोबास गर्ने उल्लेख छ ।

विसं २०७८ को जनगणनाअनुसार परिवारको आकार औसतमा चार दशमलव चारजना रहेको, सुदूरपश्चिम र मधेस प्रदेशमा चार दशमलव सात, नगरपालिकामा चार दशमलव तीन र गाउँपालिकामा चार दशमलव पाँचजना सदस्य परिवारमा रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ का क्रममा मुलुकको आमसञ्चारमाध्यमले अपेक्षा गरेअनुसार समाचार सामग्री सम्प्रेषण गरेको सो अवसरमा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रमुख तथ्याङ्क अधिकारी रायाले मुलुकको विकास निर्माणमा महत्वपूर्ण भूमिका रहने राष्ट्रिय जनगणना अभियानलाई सफल बनाउन प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा खटिने व्यक्ति सङ्घसंस्था, वर्ग, समुदाय सबैलाई धन्यवाद दिँदै निरन्तर चलिरहने विषयगत क्षेत्रका गणनामा पनि सरोकारवाला पक्षबाट यसअघिजस्तै साथ सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ५ : ४६ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना