काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी प्रदेशका थोरै स्थान र वाग्मती प्रदेशका केही भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशमा साधारणतया बदली रहेको छ । मधेस र वाग्मती प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
विभागले दिउँसो कोसी, मधेस र वाग्मती प्रदेश गायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र वाग्मती प्रदेशका केही स्थानमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको केही स्थानमा साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत बाँकी भू-भागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
हाल नेपालको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।


















प्रतिक्रिया