२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

तटबन्धन नहुँदा ६० हजार नागरिक डुवानको उच्च जोखिममा


१९ श्रावण २०८१, शनिबार  

78
Shares

बाँके । जिल्लामा राप्ती नदीले भत्काएको तटबन्धन पुनःनिर्माण हुन नसक्दा दुई गाउँपालिकाका ६० हजारभन्दा बढी नागरिक डुवानको उच्च जोखिममा रहेका छन् ।

राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुवान रोक्न निर्माण गरिएको अस्थायी तटबन्धन दुई वर्षअघि बाढीले भत्काएको थियो ।

उक्त तटबन्धन पुनःनिर्माण हुन नसक्दा राप्तीसोनारी–६ र ७ तथा नरैनापुर गाउँपालिका–६ मा गरी करिब ६० हजारभन्दा बढी नागरिक डुवानको उच्च जोखिममा रहेका नरैनापुरस्थित रेडक्रस गङ्गापुर उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवले जानकारी दिए । उनका अनुसार पछिल्लो समय राप्तीमा जल सहत बढ्दै गएर नदी गाउँतिर सोझिँदै आएको छ । लगातार वर्षा हुनासाथ राप्तीको बाढी गाउँ पस्ने जोखिम बढ्दै गएको उनले बताए ।

डुवान समस्याबारे स्थलगत अवलोकनमा पुग्नुभएका प्रतिनिधिसभाका सांसद सूर्य ढकालले नदी प्रभावित राप्तीसोनारी र नरैनापुरवासीका गुनासो सुनेपछि दीर्घकालीन रुपमा समस्या समाधान गर्न सङ्घीय सरकारसँग छलफल गर्ने प्रतिबद्धता जनाए ।

खल्ला झगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी तत्काल सरोकार भएका निकायको ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।

“अहिले भएको वर्षाका कारण नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीमा प्रवेश गर्ने अवस्था आइरहेको छ”, सांसद ढकालले भने, “नदीले तीव्र रुपमा कटान गर्दै धार परिवर्तन गर्नसक्ने जोखिम भएकाले बस्ती जोगाउन निरन्तर राज्यसँग पहल गरिरहेको छु ।”

राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको राप्तीसोनारी–७ नयाँबस्तीका शङ्कर यादवले बताए ।

“बाढी रोकथाम गर्न लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी कटान गर्दै गाउँतिर सोझिएको छ”, उनले भने”, ठूलो बाढी आयो भने गाउँ बगाउँछ भन्ने चिन्ताले वर्षात्को समयमा राम्ररी निदाउन पनि सकिँदैन ।”

तटबन्ध निर्माण नभएकाले राप्तीसोनारी–६ र ७ का सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदरवेटवा, कुडुवालगायत बस्ती जोखिममा छन् ।

बस्ती जोगाउन निर्माण भएको तटबन्ध भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका बस्तीमा ठूलो क्षति हुने अवस्था आएको वडा नं ७ का वडाध्यक्ष रामलखन थारुले बताए ।

उक्त समस्याको दीर्घकालीन समाधान खोज्न र अहिलेको जोखिम न्यूनीकरण गर्न राप्तीसोनारी र नरैनापुर गाउँपालिका, जनताको तटबन्धलगायत अन्य सरोकार भएका निकायमा जानकारी गराइएको बताउँदै हालसम्म मर्मतसंभारको पहल नभएको उनले गुनासो गरे ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : ३२ बजे

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक