२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बहुप्रतिक्षित किमाथाङ्का-खाँदबारी सडकको काम ६५ प्रतिशत सम्पन्न



खाँदबारी । बहुप्रतिक्षित किमाथाङ्का–खाँदबारी सडक खण्डको ट्रयाक खोल्ने कार्य दुई वर्षदेखि बन्द छ । सङ्खुवासभाको खाँदबारीबाट एक सय ३४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ ।

चीनको सिमाना किमाथाङ्का जोडिन अब १४ किलोमिटर मात्र बाँकी छ । यो सडकको चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा ट्रयाक खोल्न बाँकी छ । ती ठाउँमा ठूला चटान र पहाड रहेकाले विस्फोट गरी मात्र ट्रयाक खोल्न सकिने आयोजनाले जनाएको छ ।

जोगवनी किमाथाङ्का सडक विराटनगरको रानीदेखि सङ्खुवासभाको किमाथाङ्कासम्म ३ सय ४० किलोमिटर लामो छ । सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्काको दूरी १ सय ६२ किलोमिटर छ । जसमा च्याम्पाङदेखि घोङगोप्पासम्मको १४ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । ठूला चटान र पहाडका कारण निर्माण कम्पनीले ट्रयाक खोल्न नसकेपछि उक्त कार्य सेनालाई दिने भनिए पनि हालसम्म त्यसको काम सुरु हुन सकेको छैन ।

चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक मार्ग किमाथाङ्का–विराटनगर–रानी सडकको ट्रयाक खोल्ने कार्य विगत दुई वर्षदेखि रोकिएको हो । सरकारको राष्ट्रिय गौरवको आयोजना किमाथाङ्का–जोगवनी सडकखण्ड दुई वर्षदेखि काम रोकिँदा समेत सरकारको ध्यान पुग्न सकेको छैन । खाँदबारी–किमाथाङ्का सडकखण्डको एक सय ६२ किलोमिटर सडकमध्ये १४ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको उत्तर दक्षिण (कोसी) सडक आयोजनाका प्रमुख गौतम कुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी किमाथाङ्का नाकाबाट पनि यस अघि नै १४ किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ । दुई वर्ष पहिले नै घोङ्गोप्पासम्म सडक मार्ग खुलेपनि त्यसको संरक्षण नहुँदा पहिलेकै अवस्थामा पुग्न लागेको छ ।

सिन्धुपाल्चोकबाट तिब्बत हुँदै डोजर र इन्धन ल्याएर किमाथाङ्काबाट १४ किलोमिटर सडक निर्माण भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताए । शर्मा÷एपेक्स÷कान्छाराम कम्पनीले ट्रयाक खेल्ने ठेक्का लिएको किमाथाङ्कादेखि १९ किलोमिटर (१ सय ६२ देखी १ सय ४३ किलोमिटर) सम्मको सडकमध्ये १४ किलोमिटर दुई वर्ष पहिले नै सम्पन्न गरेको थियो । ट्रयाक खोल्ने जिम्मा सेनालाई दिएपनि काम सुरु नभएपछि सङ्खुवासभावासी निराश बनेका छन् ।

त्रिदेशीय लिकंरोड किमाथाङ्का–जोगवनी सडकखण्डको भिर फुटाउने जिम्मा सेनालाई दिने निर्णयपछि १४ किलोमिटर क्षेत्रको जिम्मेवारी आफ्नो कार्यालयको नरहेको आयोजना प्रमुख श्रेष्ठले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोझै सेनासँग सम्झौता गरेर काम अगाडि बढाउने भएकाले यसबारे आफूलाई कुनै जानकारी नभएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ । ट्रयाक खोल्नका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ राख्ने बङ्कर निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले बताए । च्याम्ताङदेखि घोङगोप्पासम्म १४ किलोमिटर ट्रयाक खोल्ने कार्यले प्राथमिकता नपाउँदा छिमेकी मुलुक चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक (किमाथाङ्का–जोगवनी सडकखण्ड) ओझेलमा परेको छ ।

सडक निर्माणको काम आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको थियो । उत्तर दक्षिण (कोसी) सडक कार्यालयले यो सडकलाई विभिन्न ७ खण्डमा विभाजन गरी ट्रयाक खोल्ने र स्तरोन्नतीको काम ठेक्कामार्फत सुरु गरेको थियो । च्याम्ताङदेखि घोङगोप्पासम्म १४ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । २०७६ भदौ २२ गते मन्त्रिपरिषद्को बैठकले किमाथाङ्का–जोगवनी सडकखण्डको १४ किलोमिटर भिर फुटाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।

च्याम्ताङसम्म ट्रयाक खोलेपनि खाँदबारीबाट बरुण दोभानसम्म (८० किलिमिटर) सडकखण्डमा हिउँदमा यातायात सञ्चालन हुने गरेको छ । वर्खायाममा फ्याक्सीन्दासम्म मुुस्किलले यातायत सञ्चालन हुन्छ । यसरी सडक निर्माण र किमाथाङ्का सडक विस्तारसँगै त्यसक्षेत्रमा चहलपहल बढेपनि किमाथाङ्का नाका भने सञ्चालनमा आउन सकेको छैन । सडक विस्तारसँगै यहाँ भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयवासीको माग छ ।

नेपालकै दुई मित्रराष्ट्र चीन–भारत जोड्ने छोटो सडकको रुपमा रानी विराटनगर देखि किमाथाङ्का सडकलाई लिइन्छ । सडक विस्तारले मित्रराष्ट्र चीनसँग व्यापार बढाउने र जिल्लाका उत्तरी भेगका नागरिकले यातायात तथा अन्य सुविधा पाउने छन् । यो सडकबाट एक नम्बर प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । किमाथाङ्का नाका चीनसँग जोडिने सबैभन्दा होचो र मानवबस्ती रहेको नाका मानिन्छ ।

नौ पुल निर्माणका क्रममा

नुमदखि बरुण दोभानसम्म ९ वटा ‘सडक पुल’ निर्माणको क्रममा छ । अधिकांश पुल मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले वातावरण प्रभाव मूल्याङ्कन (इआइए) नगरी ठेक्का लगाएकाले समयमा काम सम्पन्न हुन सकेन । निकुञ्ज क्षेत्रभन्दा वाहिर रहेका फाक्रे खोलाको पुलको कामसमेत ५० प्रतिशत मात्र सम्पन भएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा नै यी सबै पुलको निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।

एकुवा खोला, ठाडो खोला र उवा खोलामा पुल निर्माणको काम अहिलेसम्म पनि सुरु हुन नसकेको आयोजनाका सूचना अधिकारी आशिष नेपालले जानकारी दिए । नाङ, चाङ, जोर, उवाङ् र वाङ् खोलाको पुलको प्रगति पनि न्यून रहेको उनको भनाइ छ । इआइए नगरी ठेक्का प्रक्रियामा गएका कारण निकुञ्जले काममा वाधा पुर्याएकाले पुल निर्माणको काम ढिलाइ भएको उनले बताए । यस सडक खण्डमा १८ वटा पक्की पुल निर्माण गर्नुपर्ने छ ।

६५ प्रतिशत काम सम्पन्न

खाँदबारी–किमाथाङ्का (१ सय ६२ किमि) सडकअन्तर्गत गत आर्थिक वर्षसम्म ६५ प्रतिशत काम सम्पन्न भएको उत्तर दक्षिण (कोसी) सडक आयोजनाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए । ट्रयाक खोल्नेबाहेक सडक स्तरोन्नती, चौडा बनाउने, सव वेस तयार र पुल निर्माणको काम भइरहेको छ । अधिकांश ठेक्काको समय गत आर्थिक वर्षमा सकिएका छन् । दुई पटकसम्म समय म्याद थप गर्दा पनि ती पुलको निर्माण सम्पन्न हुन सकेको छैन् ।

आर्थिक वर्ष २०७६/७७ मा रु ८४ करोडमध्ये रु ५४ करोड ५० लाख मात्र खर्च भएको आयोजनाका सूचना अधिकारी नेपालले जनकारी दिए । भुक्तानी हुन अझै बाँकी रहेकाले यस महिनाको अन्त्यसम्म थोरै खर्च रकम बढ्ने उनको भनाइ छ । चीन र भारत जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका सबैभन्दा छोटो नाकाको रुपमा रहेको छ । अहिलेसम्म यो सडकखण्डमा रु तीन अर्ब खर्च भइसकेको बताइएको छ । रासस

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ३ : ०२ बजे

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय