१५ असार २०८३, सोमबार | June 29, 2026

जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक



तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् ।

बन्दीपुरमा बसोबास गर्ने नेवार, मगर, गुरुङ, क्षत्री जातिका पोसाकमा सजिएर पर्यटक कौरा र चुड्कामा नाचेका छन् । स्थानीय होटल व्यवसायीको सक्रियतामा शुक्रबार उनीहरूलाई यहाँको संस्कृतिबारे जानकारी गराउँदै मनोरञ्जन गराइएको छ ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका हेरिटेज गेष्ट हाउसका सञ्चालक किसान प्रधानले विदेशी पर्यटक यहाँको संस्कृति देखेर आकर्षित भएको बताए । उनले भने, “विदेशीहरूले यहाँको संस्कृति, रीतिरिवाजबारे बुझ्ने प्रयास गरेपछि उनीहरूलाई विभिन्न जातजातिका पोसाकको व्यवस्था गराएर स्थानीयवासीको सहयोगमा नचायौँ । उनीहरू निकै खुसी देखिए ।”

स्थानीयवासीले गाएको गीतमा नाच्न पाउँदा विदेशी पर्यटक खुसी देखिएका थिए । प्रधानले भने, “बन्दीपुर घुम्न आउने पर्यटक यहाँको संस्कृति, रीतिरिवाज, जातजातिको एकता देखेर मोहित हुन्छन् ।” बन्दीपुरमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आगमन बाक्लिएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि भिजिट बन्दीपुर २०२५ घोषणा गरिसकेको छ ।

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्विटजरल्यान्ड, मलेसिया, होल्यान्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आउने गरेको तथ्याङ्क रहेको प्रधानले जानकारी दिए ।

गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार उक्त वर्षभरि नै बन्दीपुरमा पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । देशका मुख्य सहर काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने थापाले बताए । पर्यटन प्रवद्र्धनकै निमित्त बन्दीपुरमा आगामी माघ महिनामा अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगिताको तयारी गरिएको छ ।

पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उनले भने, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल पर्यटकहरू लागि आकर्षणको केन्द्रविन्दु भएको छ ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछन् ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : ०२ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै