२३ बैशाख २०८३, बुधबार | May 6, 2026

भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत आपूर्ति दिन सुरु



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका ग्राहकहरुलाई सोही प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरिएको छ ।

पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब तीन सय ग्राहकलाई विद्युत् आपूर्ति दिइएको हो ।

मुग्लिङ–पोखरा सडक विस्तार आयोजनासँगको समन्यमा प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गरी त्यहाँस्थित जमिनमाथिको (ओभरहेड) लाइन र पोलहरु हटाइएको छ । तार भूमिगत गरिएपछि गुजुल्टिएको तारले बनाएको कुरुपता हटी उक्त क्षेत्र सुन्दर देखिएको छ ।

सुरुमा कुँडहर सबस्टेसनसम्मको वितरण प्रणालीमात्र भूमिगत गर्ने व्यवस्था भएता पनि पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निक्लनासाथ यात्रुहरुले गुजुल्टिएको तारले कुरुप बनेको सहर देख्ननपरोस् भनी विमानस्थलको मुख्य प्रवेशद्धारसम्म विस्तार गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणाली भूमिगत बनाउने कार्यको अनुगमन गरी काम सम्पन्न भएको क्षेत्रमा क्रमश: विद्युत् आपूर्ति दिन र ओभरहेड संरचनाहरु हटाउन निर्देशन दिए ।

कार्यकारी निर्देशक घिसिङले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड, एयरपोर्ट लगायतमा क्षेत्रमा भइरहेको कामको अनुगमन गरेका थिए । महानगरपालिका, सडक कार्यालयलगायतका निकायसँग समन्वय गरी लेकसाइडको बाँकी काम तत्काल सम्पन्न गरी भूमिगत प्रणालीमार्फत विद्युत आपूर्ति दिन प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख र आयोजनालाई कार्यकारी निर्देशक घिसिङले निर्देशन दिए ।

पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने पोखराको मुख्य सहर तथा सडकहरुमा रहेका ११ केभी एवम् ४०० भोल्ट लाइनलाई भूमिगत गर्ने र उक्त क्षेत्रहरुमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ । हालसम्म पोखरा क्षेत्रको समग्र निर्माण प्रगति ५४ प्रतिशत रहेको आयोजना प्रमुख आनन्द सुवेदीले बताए ।

लेकसाइडस्थित अधिकतम स्ट्रिट क्षेत्रमा काम सम्पन्न भएकाले अव त्यहाँ पनि छिट्टै भूमिगत प्रणालीमार्फत विद्युत् आपूर्ति दिइने प्रमुख सुवेदीले बताए ।

विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको चालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने छ ।

हावाहुरी, पानी, चट्याङ इत्यादिको कारणले विद्युत् प्रणालीमा अवरोध नहुने हुँदा भूमिगत वितरण प्रणालीबाट प्रदान गरिने विद्युत् भरपर्दो, गुणस्तरीय र सुरक्षित हुँदा विद्युतीय दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति न्यून हुनेछ ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो । आयोजनाको निर्माणका लागि असोज २०७८ मा टाटा प्रोजेक्ट लि।, भारतसँग १ करोड ६७ लाख अमेरिकी डलर र ४९ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पोखरा क्षेत्रको काम आगामी साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ११ : ५७ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल