२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरिएको जनाएको छ । आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ आज विद्युत् निर्यात भएको छ ।

आइतबार साँझ ६ः१५ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त समयमा कुल प्रणालीको पिक भार दुई हजार ४०० मेगावाट रहेको थियो । यस्तै, ५८७ मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो । प्रणालीमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीमा ठूलो क्षति पुगेको अवस्थामा पनि विद्युतको उच्चतम माग व्यवस्थापन गर्न सफल भएकामा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र आम उपभोक्तालाई धन्यवाद दिएका छन् ।

मन्त्री श्रेष्ठ आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा प्राधिकरणका उच्च व्यवस्थापन टोलीसहित प्राधिकरणको भार प्रेषण केन्द्रमा पुगेर विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए । उनले विगत तीन वर्षको लक्ष्मीपूजाको दिनको विद्युत् माग र आपूर्तिको तथ्याङ्क विश्लेषण गर्दै यस वर्ष चुनौतीपूर्ण परिस्थितिमा माग व्यवस्थापन हुनु सकारात्मक उपलब्धि भएको बताए ।

उनले विद्युतको सुरक्षित र मितव्ययी प्रयोग गर्दै उज्यालोको पर्व मनाएकामा उपभोक्तालाई धन्यवाद दिँदै नियमित र भरपर्दो विद्युत् आपूर्तिका लागि अहोरात्र खटिने कर्मचारीको योगदानको प्रशंसा गरे । आगामी दिनमा पनि विद्युत् आपूर्तिलाई सुरक्षित, भरपर्दो र नियमित बनाउन उत्तिकै प्रतिबद्धताका साथ काम गर्न उहाँले सम्बन्धित निकायलाई आग्रह गरे ।

प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट एक हजार ५३६ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९ मेगावाट, प्राधिकरणका नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२ मेगावाट र जलाशययुक्त आयोजनाबाट २२ दशमलव ३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो ।

प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रका करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार २०८२ सालको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग एक हजार ७४५ मेगावाट पुगेको थियो । यस्तै, २०८१ सालमा एक हजार ६०२ मेगावाट थियो । यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो । त्यस्तै काठमाडौँ उपत्यकाको विद्युत माग ४८९ मेगावाट पुगेको छ । गत वर्ष ४०२ मेगावाट थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार विद्युत् प्रणालीलाई अविच्छिन्न राख्न देशभरका सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको थियो । सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहितका आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको थियो । कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्नेगरी टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ११ : १३ बजे

लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको

नेपालगन्जको बिजुली पसलमा आगलागी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित एक बिजुली पसलमा आगलागी भएको

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी । बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै

घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो