९ बैशाख २०८३, बुधबार | April 22, 2026

पाल्पामा डढेलोले सखाप हुँदै जङ्गल



पाल्पा । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।

यहाँका अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । डढेलोले वयस्क र पुराना रुख पनि नष्ट गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गरेको प्रमुख भट्टराईले बताए । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेकाले उच्च सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे ।

यसपाली हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगतको अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपाली हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् ।

विशेषगरी जङ्गल नजिकैका बस्तीका नागरिक आगो लाग्नासाथ चिन्तित हुने गर्दछन् । जङ्गलमा लागेको आगो घरमा आउने डरले स्थानीय चिन्तित भएका छन् । वसन्त र ग्रीष्म ऋतु विशेषगरी डढेलो जोखिमको समय मानिन्छ । डढेलोका कारण वर्षभरि भएको हरियाली वन क्षणभरान नष्ट हुन्छ । यस वर्ष पनि गर्मी मौसम सुरु हुनासाथ डढेलोका घटनाहरू बढेका वन प्रमुख भट्टराईले उल्लेख गरे ।

केही दिनयता जिल्लाका तिनाउ गाउँपालिका-३ झुम्साको खुलखुले सामुदायिक वन, झुम्साको वसन्तपुर नजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङ्सिङ वन, तिनाउ गाउँपालिका-२ को सुकेताल र खुर्साने नजिकैको जङ्गल, रम्भा गाउँपालिकाअन्तर्गत पर्ने रिमिघा डाँडा जङ्गल, रिब्दीकोट गाउँपालिकाको पालुङ सामुदायिक वनलगायत जङ्गलमा डढेलो लागिरहेको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।

निस्दीको ज्यामिरेस्थित अरुणखोलास्थित जङ्गल, ज्यामिरेको वेभोके, बतासा, मठेखर्क, क्षेत्रीखर्क, माथागढीको रहवास, हात्तीलुङलगायत स्थानमा पनि डढेलो लागेको कार्यालयका प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार यहाँका स्थानीयले बस्ती जोगाउन सफल भए पनि मानवीय क्षतिसहित जङ्गल, केही घरगोठ र भौतिक संरचनामा क्षति भएका छन् ।

हालसम्म जङ्गलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको जनाउँदै प्रमुख भट्टराईले १६ वटा घरगोठ जलेका बताए । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिन प्रयास गरे पनि आगो पूर्ण रूपमा ननिभ्दा हावाहुरीले पुनःसल्किने समस्या रहेको उनले बताए । जिल्लाका तिनाउ, रिब्दीकोट, बगनासकाली, तानसेन र रैनादेवी छहरामा बढी डढेलो लागेको उनले जानकारी दिए ।

अधिकांश डढेलो लागेको जङ्गल नजिकै बस्ती छन् । ती बस्तीमा हावाहुरीले कुनै पनि समय डढेलो छिर्ने डरले स्थानीय रातभर सुत्न सक्दैँनन् । हरेक वर्ष लाग्ने आगोका कारण रातभर निदाउनै नसकिने रिब्दीकोटकी भिमा कार्कीले बताइन । “अघिल्लो वर्ष नजिकैको जङ्गलमा लागेको आगो बस्तीमा पसेको थियो, आगोबाट बल्लबल्ल बस्ती जोगाउन सफल भए पनि पटकपटकको डढेलोले रातमा निन्द्रा लाग्दैन”, उनले भनिन ।

अहिले पनि यहाँ आगो लागेको छ भन्दै कार्कीले भनिन, “पहिले छिमेकीको घर जलेको थियो, कतै आफ्नो जल्ने त होइन भन्ने पिरले अहिले पनि सताउँछ । के गर्नु विपत्तिको अगाडि कसैको केही लाग्दो रहेनछ ।” घरमा एक्लै बस्दै आएकी कार्कीले बढ्दै गएको डढेलोका कारण चिन्ता बढेको बताइन । दिनहुँ जस्तो भगवान्लाई सम्झिँदै बस्नु परेको उनको भनाइ छ ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घ, सामुदायिक वन, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिकजसो नियन्त्रणको प्रयास गरे पनि सफल हुन नसकेका जनाइएको छ । सुक्खा मौसम तीव्रगतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भू(बनोटले गर्दा डढेलो नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयले जनाएको छ ।

दमकलले बस्ती नजिकेको आगो निभाए पनि जङ्गलको आगो भने नियन्त्रण गर्न नसकिएको वन कार्यालय प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडाका वन, जङ्गल डढेलोको उच्च जोखिममा छन् भने २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेका छन् ।

डढेलो नियन्त्रणका लागि पाल्पाका वनमा अग्निरेखा बनाउने र भएका अग्निरेखा सरसफाइ गर्ने काम भइरहेको भट्टराईले जानकारी दिए । “गर्मी मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएपछि वन कार्यालयले डढेलो नियन्त्रणका लागि पूर्वसावधानी अपनाउँदै अग्निरेखा बनाउने कार्यलाई भने तीव्रता दिएको छ”, उनले भने ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ९ : १६ बजे

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको