नेपालगन्ज । सिकनसेल रोगको न्युनिकरण र उपचारका लागि जनचेतना अझै जरुरी रहेको सरोकारवालाले बताएका छन् । लुम्विनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको आयोजनामा बाँकेमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुलाई हेमोग्लोविनोप्याथी (सिकलसेल, बिटाथालेसिमिया) रोग सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाहरुले सिकनसेल बाहक र बिरामीका बीच बैबाहिक सम्बन्धको ज्ञान नहुँदा सिकनसेल बाहक र बिरामीको संख्या थपिँदै गएको बताए ।
कार्यक्रममा प्रस्तुतिकरण दिँदै भेरी अस्पताल नेपालगन्ज विज्ञ चिकित्सक अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले हेमोग्लोविनोप्याथी सम्वन्धी जनचेतना फैलाउने जिम्मेवारी स्थानीयतहले पुरा गर्नु पर्ने बताए । उनले संघ र प्रदेशले उपचारको गुणस्तरियता र उपकरणको बन्दोबस्त गर्ने र स्थानीयतहबाट जनचेतनामुलक कार्यक्रम हुन सके सिकनसेलको न्युनिकरण गर्न सकिने बताए ।
हेमोग्लोविनोप्याथी सम्वन्धी स्वास्थ्यकर्मीहरुको ज्ञान, सीप र धारणा अभिवृद्धि गरि सेवा प्रवाहमा सुदृढ गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले बताए । अभिमुखीकरण कार्यक्रमले हेमोग्लोविनोप्याथी सम्वन्धी जनचेतना बढाई यसको रोकथाम र व्यवस्थापनमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहजता प्रदान गर्ने उनको भनाइ थियो ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा. निराजन सुवेदीले हेमोग्लोविनोप्याथी सम्वन्धी रोग अहिले भयावह बन्दै गएकाले यसको पहिचान र रोकथाममा जोड दिन आवश्यक रहेको बताए ।
सिकलसेल एनिमिया, थालेसिमिया जस्ता रोगको प्रभाव बाँकेसहित आसपासका जिल्लाहरुमा बढी रहेको छ । उनले हेमोग्लोविनोप्याथी रोगको उपचारका लागि भेरी अस्पतालले विशेष प्राथमिकता दिएको उल्लेख गरे ।
भेरी अस्पतालको तथ्याङ्कमा बाँकेमा मात्र ३०० बढी नागरिकमा हेमोग्लोविनोप्याथी रोगको संक्रमण रहेको छ । भेरी अस्पतालको रेकर्ड अनुसार ५दाङ देखि बन्चनपुर सम्मका ५ हजार बढीमा हेमोग्लोविनोप्याथी रोगको लक्षण देखिएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए । सामान्यतया थारु समुदायमा यो रोग लाग्ने भनिएपनि नवलपरासी पश्चिम क्षेत्रमा थारु बाहेकका समुदायमा पनि हेमोग्लोविनोप्याथी रोगको संक्रमण पुष्टी भएको उनले बताए ।
कार्यक्रममा भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, पालिका अस्पतालहरुका चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।


















प्रतिक्रिया