११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन अगुवाई



बुटवल । बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उदेश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन बुटवलले पहल थालेको छ । भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरपालिकाले पहल थालेको हो ।

जसअनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहहरुसँग भेटेर आपसी सहकार्य र पर्यटक भित्राउनका लागि साझा पहल थाल्ने गरी छलफल गरेको छ ।

स्याङ्जाको कालिगण्डकी, पाल्पाको तानसेन, गुल्मीको कालिगण्डकी, बाग्लुङको जैमिनी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका स्थानीय तहहरुसँग भेटघाट गरी पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने र छिटै नै पालिकाहरुका बीचमा सम्मेलन आयोजना गर्ने निर्णय भएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

उनका अनुसार स्याङ्जाको कालिगण्डकी गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकासँग बुटवल उपमहानगरपालिकाले भगिनी सम्बन्ध कायम गर्ने सहमति समेत भएको छ ।

‘बुटवल देशका सबैजसो स्थानबाट र भारत तथा चीनबाट समेत आउन जानका लागि सहज शहर हो, यहाँबाट देशका सबैजसो स्थानमा जाने गाडीहरु चल्छन् र भैरहवा विमानस्थलबाट समेत हवाइ सेवा उपलब्ध छ, प्रमुख पाण्डेयले भने- यसको लाभ उठाउने गरी बुटवललाई केन्द्र मानेर भारतबाट आउने हिन्दु पर्यटकलाई मुक्तिनाथ र कोरला नाकासम्म लैजाने तथा चीनबाट कोरला नाका हुँदै लुम्बिनी आउने बौद्ध धर्मका पर्यटकलाई सहजीकरण गर्ने उदेश्य हाम्रो हो ।’

उनले बुटवलमा सबैका लागि उपयोगी हुने पर्यटक सूचना केन्द्र निर्माण गर्ने र पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा टुर प्याकेजहरु तयार गरेर भारत र चीनका पर्यटक आकर्षित गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए ।

‘बुटवल र आसपासका पर्यटकीय स्थलहरु घुम्ने र बुटवलमा रात बिताउने गरी यस्तो प्याकेज तयार गरी भारत र चीनका पर्यटकलाई बुटवलमा भ्रमणको निम्तो दिइनेछ, उनले भने-यसले गर्दा बुटवलको मात्रै नभइ लुम्बिनीदेखि कालिगण्डकी करिडोर क्षेत्रमा पर्ने स्थानीय तहहरुको समेत पर्यटन प्रवर्द्धनमा योगदान पुग्नेछ ।’

यसैक्रममा बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच धार्मिक पर्यटन प्रद्र्धनमा सहकार्य गर्ने सहमति भएको छ । कालिगण्डकी करिडोरलाई धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्ने गरी दुई पालिका अघि बढ्ने भएका हुन् ।

उपमहानगरपालिकाको टोली मुस्ताङ भ्रमणमा रहेको बेला घरपझोङ गाउँपालिकासँग धार्मिक पर्यटन प्रवद्र्धनसँगै विकास निर्माण र सेवा प्रवाहमा समन्वय तथा सहयोग आदानप्रदानलाई निरन्तरता दिन भगिनी सम्बन्ध कायम गर्ने समझदारी समेत भएको हो । भगिनी सम्बन्धलाई औपचारिकता प्रदान गर्न निकट भविश्यमै आपसी सल्लाहमा कार्यक्रम तय गर्ने निर्णयमा उल्लेख छ ।

त्यस्तै बुटवल मुक्तिनाथ पदमार्ग क्षेत्रमा अवस्थित सबै स्थानिय सरकारको भेला आयोजना गरि धार्मिक पर्यटन प्रवद्र्धनको लागि वृहत छलफल र अन्तरक्रिया कार्यक्रमको लागि दुई स्थानिय सरकारले पहल गर्ने प्रमुख पाण्डेयले बताए ।

‘बुटवलबाट कालिगण्डकी करिडोर हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय विकास गर्ने कुरामा दुवै पालिकाकाबीचमा समझ्दारी भएको छ ।’ उनले भने ‘अरु पालिकालाई पनि समेटेर बुटवलदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थानलाई व्यापक रुपमा प्रचार प्रसार गर्ने निर्णय भएको छ ।’

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बुटवल मुक्तिनाथ पर्यटकीय प्रवद्र्धनले समग्र देशको अर्थतन्त्रलाई चलायमान गराउने बताए । ‘कालिगण्डकी आसपासका तीर्थस्थलहरुको कसरी प्रवद्र्धन गर्ने गरेर भारतदेखी मुक्तिनाथसम्मलाई पर्यटनले जोड्दा देशको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्छ-उनले भने-ठूलो संख्यामा पर्यटक आए भने यहाँको व्यापार व्यवसाय चलयाममान हुन्छ । त्यसको लागि हामी भगिनी सम्बन्ध पनि कायम गर्दैछौं । यसलाई ऐतिहासिक रुपमा सफल बनाउँछौं ।’

त्यस्तै मुस्ताङमा उत्पादित स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजार व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले पहल गर्ने र बुटवल उपमहानगरपालिकाको उत्पादन प्रवद्र्धनमा घरपझोङ गाउँपालिकाले पहल गर्ने सहमति समेत भएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

यस्तै गरी, वाग्लुङको जैमिनी नगरपालिका, स्याङ्जाको कालिगण्डकी, गुल्मीको कालिगण्डकी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका जनप्रतिनिधिहरुले पनि बुटवलको अभियानमा सँगै अगाडि बढ्ने र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने बताएका थिए ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बुटवल र जैमिनीका बीचमा सहकार्य गरी पर्यटन प्रवर्द्धन तथा व्यापार व्यवसायमा समेत सँगै अगाडि बढ्ने बताए । कालिगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद मगर, उपाध्यक्ष मञ्जु कुमारी दर्लामी, स्याङ्जाको कालिगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालालगायतले बुटवलले अगुवाई गरी पर्यटन प्रवर्द्धन र व्यापार व्यवसायमा आदानप्रदान गर्ने उदेश्यमा सँगै अगाडि बढ्ने बताएका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ५ : १६ बजे

सुकुम्बासी बस्ती भत्काउने कार्य तत्काल रोक्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला । जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार

कांग्रेस संसदीय दलको नेता चयन आज, सर्वसम्मत प्रयास जारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ