
कविता
विभेद
—————–
तिमी पनि मानव,
म पनि मानव ।
छुत अछुतको कठबार
जातको प्रश्न र विभेदको उत्तर
जातीय विभाजक रेखाले विभक्त
परम्पराको खोलभित्र
अपारदर्शी काँडेतारले कोतर्दैगर्दा
प्रेमको अनुभूति गर्दै
खुशीका लालीमा छर्न किन सकिँदैन ?
मान्छेले मान्छेबीच अँगालोमा कस्न किन सकिँदैन ?
दुई हात जोडेर
शिष्टाचार पस्किनका लागि !
हैसियत र प्रतिष्ठाको भाँजो हालेर
वर्ग र जातको कुरुप करौंतीले
सामाजिक जुइनो चुडाल्दा,
म प्रश्न गर्छु साथी
हाम्रो जात फरक फरक किन ?
हाम्रो वर्ग फरक किन?
दलितको लाहाछाप
गरीबको उपनाम
तिरस्कारको खञ्जर
किन ? किन ? किन ?
इमान र जमान,
अनि नैतिकताले कङ्गाल !
तिनै मान्छेहरू
कथित उच्च र निम्न जातकै कारणले
हीन विचारको जस्केलाबाट
प्रतिष्ठाको रवाफ डकारिरहेका छन्
किन ? किन ? किन?
सिङ्गो जगतको:
घाम उही हो, जून उही हो ।
धर्ती उही हो ,नुन उही हो ।
आत्मा उही हो ,खुन उही हो ।
नियम उही हो ,कानुन उही हो !
तर, मान्छे मान्छे बीचमा,
यति धेरै फरक किन ?
भावना र आत्मा
हैसियत आचरण
मूल्य र मान्यता
मर्यादा र प्रतिष्ठा
आचरण विचरण
इमानर जमान
नीति र नैतिकता
सबै सबै फरक किन ?
एकै धर्तिका मान्छे मान्छे फरक किन ?
के कारण फरक ?
कसरी फरक ?
कस्ले दिन्छ यसको जवाफ ?
मानव सभ्यताको युगले मागिरहेको छ…….
कसले दिन्छ यसको जवाफ ? —————————————————————————————————————- कविता
नेपाल आमाको प्रश्न
शासन फेरिए, तर शासन शैली उस्तै,
टोपी बदलियो, तर टाउको उही —
सिंहदरबारमा अनुहार फेरिए पनि,
जनताको आँशु सुक्ने छाँट कहिले?
राजतन्त्र गयो भन्दै झन्डा फहरायौं,
तर रगतमा चुहिएको त्यो झन्डा
आज दलालको भित्तामा झुण्डिएको छ।
बन्दुकले हो भनेर सुरुङ खन्याउनेहरू,
आज कोठाभित्र एयरकन्डिसनमा थकाइ मार्छन्,
तर मनमाया— उही खेतमा, कम्मर बाँधेर
सुस्केरा फेर्छे
मजदुरका हातमा अझै ठेला छन्,
र नेताहरूले ‘समानता’को भाषण
सुविधाको मञ्चमा उभिएर गर्छन्।
कसैले पासपोर्टमा आशा बोकेर
माउको अँगालो छोड्छ,
विदेशी रेमिट्यान्सले
भित्रिँदै छ टोलको छाना मुनि,
तर बाबुको मुख हेर्ने दिनमा
बाबु चाहिँ अस्पतालको सिञ्चाई पाइपमा गलेको छ।
विद्यालयमा पढिन्छ ‘नेपाल सुन्दर छ’
तर डेस्क पछाडि भोकले झुम्मिएका आँखा छन्,
शिक्षकहरूसँग तलब छैन,
र स्वास्थ्य चौकीमा औषधि छैन।
फेसबुकमा राष्ट्रप्रेमी बनिन्छ,
अनि देश जलिरहेको पोस्टमा
सिर्फ ‘Like’ थिचिन्छ।
नेपाल आमा हेर्छिन् —
हिउँजस्तै सेताम्मे आँखाले,
धेरै छोरा गुमाएकी आमा,
आज पनि प्रश्न गर्छिन् —
“मलाई यो परिवर्तन किन अनाथ लाग्छ?”
ती पर्वतहरू भन्छन्,
“हामीले पनि आवाज सुनेका थियौं
– तर अहिले सुनिन्छ, केवल मौनता।”
नेपाल आमा चुप लाग्ने छैनन्
उनका आँसु अब झर्ने छैनन्
उनका आँखा अब टल्किनेछन्
र एउटा नयाँ प्रश्न गर्ने छिन् —
“के फेरि मेरो कोख चाहिन्छ?
परिवर्तनको बलिको लागि?
कि अब तिमीहरू पनि
मेरो माटोको सुगन्ध चिन्न सिक्यौ?”
खजुरा, बाँके


















प्रतिक्रिया