२५ चैत्र २०८२, बुधबार | April 9, 2026

मिथिला क्षेत्रमा झुला पर्व मनाइयो



महोत्तरी । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मिथिला क्षेत्रमा मनाइने झुला पर्व सम्पन्न भएको छ । भगवान् विष्णु र भगवती लक्ष्मीको आराधनाको यो पर्व मिथिलाका मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने रामसीता र कृष्णराधाका प्रतिमालाई विशेष झुला (कोक्रा, एकप्रकारको कलात्मक पिङ)मा हल्लाउनु नै यस पर्वको मुख्य विधि हो ।

झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाउने गर्छन् । साउन पूर्णिमाको मध्यरात कटेपछि देवदेवीलाई झुलाइने झुलाको डोरी छिनाएर १३ दिने यो पर्व सम्पन्न गरिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णवले जानकारी दिए ।

मिथिलामा जनकपुरधामस्थित जानकी मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर परिसर झुलाघरको झुला उत्सव प्रसिद्ध छ । यस उत्सवमा पायक पर्ने मुख्य मठ र मन्दिरमा वरपरका अन्य मठमन्दिरबाट विष्णु लक्ष्मीका प्रतिमा एकै ठाउँ ल्याएर उत्सव मनाउने चलन छ । झुला, मल्हार र कजरी गीतका लयमा गाउँदै, नाच्दै मनाइने यो पर्व मिथिलाको विशिष्ट परम्परा भएको मिथिला लोकपरम्पराका जानकार बताउँछन् । मिथिलामा यो उत्सव परम्परा विसं १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गरेको विश्वास गरिँदै आइएको जनकपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।

साउनको पनि पछिल्लो शुक्लपक्ष मिथिलामा सामान्यतया मौसम अनुकूल रहँदा मुख्यबाली धान रोपेर सकिएपछिको समय हुन्छ । यतिखेर किसान मन्दमन्द पानी परिरहोस् भन्ने कामना गर्छन् । यसैबेला धानको रोपो हरियो फेरिएर लहलहाएको दृश्यले किसान आफ्नो मेहनतप्रति मख्ख पर्छन् । प्रकृतिले जताततै सुन्दरता बिखेरेको यो बेला रमाउन नै मैथिल (मिथिलाका बासिन्दा) आफ्ना इष्टदेवदेवी राम, कृष्ण एवं सीता, राधासँग खेलेको अनुभूति सँगाल्न झुला पर्वमा रमाउने गरेका मैथिल परम्परा र संस्कृतिका जानकार बताउँछन् ।

मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएका हुँदा ज्वाइँलाई प्रसन्न राख्ने मैथिल परम्पराअनुसार साउन शुक्लपक्षका पछिल्ला १३ दिन श्रीरामलाई झुलाउने परम्परा चलेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका प्राचार्य हेमनारायणलाल कर्ण बताउँछन ।

जनकपुरमा अघि रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिनुभएको हीरा, रत्न र मणिमाणक्यको थुप्रो लागेको र त्यो पाहाडजस्तै बनेको बताइन्छ । अहिले मणिपर्वत भनिने सो ठाउँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । झुला पर्वमा साउन शुक्ल तृतीयाका दिन यसै मणिपर्वतको पूजा गरेर पर्व सुरु गरिने मिथिला परम्परा छ ।

जनकपुरमा जानकी मन्दिरमा र महोत्तरीको मटिहानीमा झुलाघरमा उत्सव मनाइन्छ । भुलनोत्सवकै लागि निर्मित झुलाघरमा लक्ष्मीनारायण मठ र मन्दिरबाट विष्णुलक्ष्मी प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा भुलाइन्छ । मटिहानीमा नेपाल भारतका गरी दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइने चलन छ । पर्वभरि साधुसन्त केन्द्रमा जम्मा भई पर्वमा रमाउँछन् । यो मिथिला लोकपरम्पराकै खास सांस्कृतिक पर्व रहँदै आएको जलेश्वर-५ पतैलीका बासिन्दा यालना विद्यापीठ मटिहानीका अवकाशप्राप्त नेपाली साहित्यका सहप्राध्यापक ध्रुव राय बताउँछन ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : १६ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास