५ आश्विन २०८३, सोमबार | September 22, 2026

बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी



बागलुङ । यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादशैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि भएसँगै कम मात्रामा यहाँ च्याङ्ग्रा भित्रिएका हुन् ।

जिल्ला सदरमुकाममा अहिलेसम्म एक सय च्याङ्ग्रा भित्रिएका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादशैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् ।

दशैँमा प्रायः उपभोक्ताले मासुका लागि भेडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा ल्याउने गरिएको बलबहादुर थापाले बताए । बर्सेनि बागलुङबाट मुस्ताङ पुगेर च्याङ्ग्रा भित्र्याउँदै आएका उपल्लाचौरका थापाले यस पटक २९ वटा मात्रै च्याङ्ग्रा भित्र्याएको जानकारी दिए ।

उनले प्रतिच्याङ्ग्रा ३५ हजारदेखि ३७ हजारसम्ममा बिक्री हुने गरेको बताए । च्याङ्ग्राको मासु प्रतिकेजी दुई हजारसम्ममा बिक्री गर्दै आएको भन्दै थापाले मूल्यवृद्धि भएकाले पछिल्लो समय च्याङ्ग्राको मासु कम खपत हुन थालेको अनुभव सुनाए । गत वर्ष जिल्लामा तीनसय भन्दा बढी च्याङ्ग्रा भित्रिने गरेकामा यस वर्ष मूल्य वृद्धि भएसँगै उक्त सङ्ख्यामा कमी आएको हो ।

‘स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ, दशैँमा च्याङ्ग्रा खाने परम्परा भए पनि मूल्य वृद्धिका कारण सबैले खान सक्ने अवस्था छैन । आर्थिक अवस्था कमजोर हुनेले खानै सक्दैनन्’, थापाले भने, ‘मुस्ताङबाट चार दिनमा च्याङ्ग्रा ल्याएको हो, रोज्जा च्याङ्ग्राको मूल्य ३७ हजार पर्दछ ।’ उनले पहिला जस्तो च्याङ्ग्रा व्यापारमा नाफा नभएको बताए ।

थापासँगै बागलुङका ज्ञानेन्द्रबहादुर कार्की र महेन्द्रबहादुर केसीले यस पटक ३०/३० गरी ६० वटा च्याङ्ग्रा भित्र्याएका छन् । बागलुङ बजारमा मासु पसल सञ्चालन गर्दै आएका केसीले लामो समयदेखि दशैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्ग्रा ल्याउने कामलाई निरन्तरता दिएका छन् । च्याङ्ग्राको आयात थोरै हुँदा मूल्य बढेको उनको भनाइ छ । मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन् ।

गोठबाट उतैका व्यापारीले च्याङ्ग्रा मुस्ताङको सदरमुकाम जोमसोम ल्याउने र आफूले त्यहाँबाट खरिद गरेको केसीले बताए ।

हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ । चाडपर्वका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट च्याङ्ग्रा बागलुङ झार्ने गरिन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ८ : ४३ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न