काठमाडौं । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएका छन् । प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे दलहरूको धारणा बुझ्ने उद्देश्यले सभामुखले बुधबार बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बैठक बोलाएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।
सभामुख घिमिरेले संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा दलहरूको आधिकारिक मत जान्न चाहेका हुन् । उनले प्रत्येक दलका प्रतिनिधिहरूलाई पार्टीको औपचारिक धारणा सहित उपस्थित हुन निर्देशन दिएका छन् ।
दलहरूबाट धारणा लिएपछि सभामुखले पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनका पदाधिकारीहरूसँग पनि विस्तृत परामर्श गर्ने तयारी गरेका छन् ।
संसद विघटनपछि उत्पन्न संवैधानिक र राजनीतिक अवस्थाबारे स्पष्ट दिशा तय गर्न सभामुखको यो पहल महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।


















प्रतिक्रिया