काठमाडौं । इजरायलमा मारिएका कञ्चनपुरका युवा विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।
फ्लाई दुबईको विमानमार्फत उनको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
विपिनलाई श्रद्धान्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थलमा उपस्थित भएकाछन् ।
उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकामा रहेको उनको घरमा लगिने भएको छ । त्यसपछि उनको अन्तिम दाह संस्कार गरिने ।
अध्ययनका लागि इजरायल पुगेका विपिन जोशीलाई गत वर्ष अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो । लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाटको क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण र फरेन्सिक जाँचबाट उक्त शव विपिनकै भएको प्रमाणित भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
विपिनको शव नेपाल पठाउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जलीका क्रममा उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।


















प्रतिक्रिया