काठमाडौं । भारतमा जारी दृष्टिविहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले प्रभावशाली प्रदर्शन जारी राख्दै अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले तीन खेलमा दुई जित दर्ता गर्दै समूहको दोस्रो स्थान सुरक्षित गरेको छ ।
शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १४.५ ओभरमै सहज रूपमा पूरा गर्यो । नेपालका लागि विनिता सोमाइले उत्कृष्ट ५६ रन (अविजित) बनाउँदै विजयी पारीको नेतृत्व गरिन् । मनकेशी चौधरीले पनि अविजित ४३ रनको योगदान दिइन् भने ओपनर सुस्मा तामाङले २२ रन बनाइन् ।
बलिङतर्फ अस्ट्रेलियाकी कोर्टनी लुइसले एकमात्र विकेट लिएकी थिइन् ।
सोअघि, टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि कोर्टनी लुइसले ३१ रन, जेनिफर पेरीले ३० रन र अमेलिया हर्टले २१ रनले योगदान दिए । नेपालका लागि सुनिता भुजेलले एक विकेट हात पारिन्, जबकि कडा क्षेत्ररक्षणका कारण अस्ट्रेलियाका पाँच खेलाडी रनआउट भएका थिए ।
नेपालले यसअघि पहिलो खेलमा श्रीलङ्कालाई पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक भारतसँग भने हार बेहोरेको थियो । यस जितसँगै नेपाल चार अंकसहित समूह ‘बी’मा दोस्रो स्थानमा छ र सेमिफाइनल प्रवेशका लागि बलियो दाबी कायम राखेको छ ।
दृष्टिविहीन महिला क्रिकेटमा नेपालले देखाएको यो प्रगति ऐतिहासिक मानिएको छ र यसले नेपाली क्रिकेट समुदायमा उत्साह थपिएको छ ।


















प्रतिक्रिया