काठमाडौं । शिक्षामन्त्री महावीर पुनले देशमा अत्यधिक दल दर्ता गर्ने प्रतिस्पर्धा बढ्दै गएपछि पुरानै भ्रष्ट र जालझेल गर्ने नेताहरू पुनः सत्तामा फर्कने सम्भावनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
पुनको भनाइमा, निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँगै थप ३२ दल दर्ता प्रक्रियामा हुनु नै राजनीतिक विभाजनको चरम रूप हो। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “फुटेर होइन, आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ।”
उनका अनुसार साना–साना विषयमा नेपालीहरू नमिल्नु र अनावश्यक रूपमा धेरै पार्टी दर्ता गर्न आतुर हुनुले देशलाई प्रतिगमनतर्फ धकेल्दै छ। यस्तो प्रवृत्तिले दशकौंसम्म जनता माथि अन्याय गर्ने, बृद्ध नेताको संरक्षणमा पलाएका पुरानै ‘जाली-फटाहा’ नेतृत्व पुनः सक्रिय हुने चेतावनी उनले दिए।
पुनले थप भने, “यस्तै चलेमा जेन-जी आन्दोलनको लक्ष्य कमजोर हुन्छ। अहिलेको मन्त्रीमण्डलले गरेका सकारात्मक सुधारात्मक कदम र निर्णयहरू, पुरानै पापी–भ्रष्टाचारी पार्टीहरू फेरि विजयी भए उल्ट्याइन्छन्।”
उनले राजनीतिक एकता, संयमता र विवेकपूर्ण निर्णयमै राष्ट्रको भविष्य सुरक्षित हुने भन्दै सबैलाई सचेत रहन आह्वान गरेका छन्।


















प्रतिक्रिया