काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दुई महत्वपूर्ण खेलहरू हुँदैछन् । पहिलो खेल बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ३:३० बजे काठमाडौं गुर्खाज र विराटनगर किङ्सबीच हुने तालिका छ ।
शनिबारको पहिलो खेल कर्णालीका कप्तान सोमपाल कामी र लुम्बिनीका कप्तान तथा नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलबीचको प्रतिस्पर्धा हुनेछ । चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली पहिलो जितका लागि मैदान उत्रिँदैछ । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएर उच्च मनोबलमा रहेको लुम्बिनी लगातार दोस्रो जितको खोजीमा रहनेछ ।
दोस्रो खेल पनि उत्तिकै रोचक छ । राष्ट्रिय टिमका फास्ट बलर करण केसी र लेग स्पिनर सन्दीप लामिछाने आमनेसामने हुँदैछन् । करण काठमाडौं गुर्खाजको कप्तानीमा छन् भने सन्दीप विराटनगर किङ्सका कप्तान हुन् ।
काठमाडौंले दुई खेल खेल्दा एक जित र एक हारसहित दुई अंक जोडेको छ । जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो ।
विराटनगरले भने एक खेल खेलेरै दुई अंक जोडेको छ । पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो। आजको खेलमा काठमाडौं पुनरागमन खोज्दै छ भने विराटनगर लगातार दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ ।


















प्रतिक्रिया