काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनको बलमा सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई पराजित गर्दै लगातार तेस्रो जीत दर्ता गरेको छ । कर्णालीमाथिको जितसँगै टोलीले ६ अंक जोड्दै उत्कृष्ट सुरुवात कायम राखेको छ ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेट गुमाउँदै १३९ रनको योगफल बनाएको थियो । टोलीका कप्तान ऐरीले २८ बलमा एक चौका र दुई छक्काको मद्दतले ३९ रन जोड्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोर बनाउन मद्दत गरे । आरिफ शेखले २५ बलमा २७ रन, हरमित सिंहले १९ रन र क्रिस लिनले १८ रन योगदान दिए ।
१४० रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको कर्णाली १९.२ ओभरमै ९४ रनमै समेटियो । टोलीका पवन सर्राफले २७ रन बनाए भने मार्क वाटले १७, सोमपाल कामीले १४ र गुल्सन झाले १३ रनको योगदान गरे। बाँकी खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् ।
सुदूरपश्चिमका लागि ऐरीले सानदार बलिङ गर्दै चार विकेट लिए । त्यस्तै, हरमित सिंहले दुई विकेट, स्कट कुग्लेजिन, हेमन्त धामी र अविनास बोहराले एक-एक विकेट हात पारे ।
कर्णालीका सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट हात पारे । मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक-एक विकेट जोडे ।
एनपीएलअन्तर्गत मंगलबार अपराह्न ४ बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।


















प्रतिक्रिया