१८ चैत्र २०८२, बुधबार | April 1, 2026

एभरेष्ट माविको सांस्कृतिक कार्यक्रममा अतिरञ्जित प्रचारप्रति विद्यालय प्रशासनको आपत्ति



बुटवल । बुटवल-८ सुख्खानगरमा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयले आफ्नो वार्षिक सांस्कृतिक कार्यक्रमलाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा भएको अतिरञ्जित र भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्यालयका प्राचार्य कृष्णबहादुर न्यौपानेले विज्ञप्ति जारी गर्दै तथ्य नबुझी गरिएको प्रचारले विद्यालयको लामो र गर्विलो शैक्षिक इतिहासमाथि नकारात्मक असर पार्ने प्रयास भएको बताएका छन् ।

२०४२ सालमा स्थापना भएको एभरेष्ट माध्यमिक विद्यालय बुटवल क्षेत्रको शैक्षिक उन्नयनका लागि स्थापित प्रतिष्ठित शैक्षिक संस्था हो । विद्यालयले स्थापना कालदेखि हालसम्म लाखौँ शैक्षिक जनशक्ति उत्पादन गर्नुका साथै तत्कालीन एसएलसी र पछिल्ला एसईई परीक्षामा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । एभरेष्ट मावि रुपन्देही मात्र नभई आसपासका जिल्लाका विद्यार्थीहरूका लागि पनि भरपर्दो र उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको विद्यालयको दाबी छ ।

शैक्षिक उपलब्धिसँगै विद्यालय अतिरिक्त क्रियाकलापमा पनि अग्रपङ्क्तिमा रहेको जनाइएको छ । भलिबल, फुटबल, क्रिकेट, बास्केटबल, ब्याडमिन्टनलगायत खेलकुदका साथै विज्ञान तथा खाना प्रदर्शनी, चित्रकला प्रदर्शनी र विविध सिर्जनात्मक कार्यक्रमहरू विद्यालयको वार्षिक क्यालेण्डरअनुसार नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।

यसैक्रममा २०८२ साल मंसिर २५ गते विद्यार्थी तथा शिक्षकहरूको प्रत्यक्ष सहभागितामा विद्यालयमा सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूले हिन्दु, इसाई, इस्लामलगायत विभिन्न धर्म, संस्कृति र रीतिरिवाजलाई भेषभूषा तथा जातीय पहिचानसहित प्रस्तुत गरेका थिए । ब्राह्मण, क्षेत्री, गुरुङ, मगरलगायत समुदायका पहिरन र संस्कृतिको प्रदर्शन गरिएको थियो भने केही हिन्दु संस्कारसम्बन्धी विषयवस्तु विद्यार्थीहरूले नाटकको रूपमा मञ्चन गरेका थिए ।

विज्ञप्तिमा शिक्षक-शिक्षिकाले ती प्रस्तुति काल्पनिक नाटक मात्र भएको र त्यसलाई नाटककै रूपमा बुझ्नुपर्ने विषयमा कार्यक्रमकै क्रममा स्पष्ट पारेको उल्लेख छ । तर, त्यसलाई बेवास्ता गर्दै केही व्यक्तिहरूले सामाजिक सञ्जाल र मिडियामा भिडियो फुटेजलाई तोडमोड गरी विद्यालयको छवि धुमिल पार्ने गरी प्रचार गरेको विद्यालयको भनाइ छ ।

विद्यालय प्रशासनले सत्यतथ्य नबुझी ‘लाइक’, ‘भ्यु’ र ‘सेयर’ बढाउने उद्देश्यले गरिएको यस्ता गतिविधिप्रति खेद व्यक्त गर्दै यसले विद्यालय, विद्यार्थी र अभिभावकलाई नकारात्मक प्रभाव पार्न सक्ने जनाएको छ । साथै, विद्यालयका वार्षिक शैक्षिक तथा सांस्कृतिक कार्यक्रमलाई लिएर भ्रम फैलाउने कार्य नगर्न सम्बन्धित सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ४ : २८ बजे

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको