सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार राति भएको आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् भने चार घरमा ठूलो क्षति पुगेको छ ।
आगलागीमा परी स्थानीय लैबा फडेरा र बम्बु फडेरा गम्भीर रूपमा जलेका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला, सिमकोटमा पठाइएको सर्केगाड गाउँपालिका-२ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए । घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
आगलागीका कारण स्थानीय लैबा फडेरा, जयराम फडेरा र छिरिङ फडेराको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने रमेश महताराको घरमा पनि ठूलो क्षति पुगेको छ । घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न तथा अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु श्रेष्ठका अनुसार आगलागी राति करिब ११ बजेतिर सुरु भएको थियो । रातिको समय र दुर्गम भौगोलिक अवस्थाका कारण आगो नियन्त्रण गर्न कठिनाइ भएको उनले बताए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको जनाइएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको र घटनास्थलमा थप सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया