१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता



काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । शनिबार (पुस १२) आयोगले मतदाता नामावली प्रकाशन गर्दै देशभरका योग्य मतदाताको विवरण अद्यावधिक गरिएको जनाएको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो । आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने सबै नागरिकलाई समेटेर नामावली अद्यावधिक गरिएको छ ।

प्रकाशित विवरणअनुसार कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ । यसमध्ये पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८, महिला मतदाता ९२ लाख ४० हजार १३१ र अन्य २०० जना रहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार मतदाताले आफ्नो नाम, ठेगाना तथा अन्य विवरण आयोगको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन् । नामावलीमा कुनै त्रुटि देखिएमा सम्बन्धित निर्वाचन कार्यालयमार्फत सुधारको प्रक्रिया अपनाउन पनि आयोगले आग्रह गरेको छ ।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो । त्यसबेला पुरुष मतदाता ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ जना थिए ।

यसअनुसार पछिल्लो तीन वर्षको अवधिमा कुल मतदाता संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ । आयोगका अनुसार यस अवधिमा पुरुष मतदाता ५ लाख २२ हजार ५५२, महिला मतदाता ३ लाख ९२ हजार ५५२ र अन्य १५ जना थपिएका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र समावेशी बनाउन मतदाता नामावली अद्यावधिक तथा व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ३३ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको