काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेका छन् । क्यासिनोभित्र अवैध रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार च्यानलाई शुक्रबार राति पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा क्यासिनोले इभेन्टको नाममा नेपाली नागरिकलाई प्रवेश गराई प्रविधिको प्रयोगमार्फत ठूलो रकमको हार-जित गराएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यसअघि नै सोही क्यासिनोबाट चार जना भारतीय नागरिक र दुई जना नेपाली महिलालाई पक्राउ गरिएको थियो । उनीहरूमाथि पनि अवैध रूपमा जुवा सञ्चालनमा संलग्न भएको आरोप छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालको कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको छ । तर, पछिल्लो समय केही क्यासिनोहरूले विभिन्न बहानामा नेपालीलाई भित्र्याई अवैध गतिविधि सञ्चालन गरिरहेको भन्दै प्रहरी र सरोकारवाला निकायले निगरानी कडा बनाएका छन् ।
प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा क्यासिनो व्यवस्थापनको भूमिकाबारे समेत थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।



















प्रतिक्रिया