काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको सहमतिलाई रास्वपाको केन्द्रीय समितिले औपचारिक रूपमा अनुमोदन गरेको छ । आइतबार राति पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएअनुसार बैठकले बालेन र रास्वपाबीच भएको सहमति राष्ट्रहितको पक्षमा ऐतिहासिक कदम भएको निष्कर्ष निकालेको छ । पार्टीले यो सहमति मुलुकमा विद्यमान राजनीतिक बेथिति, भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढ्ने आधार बन्ने विश्वास व्यक्त गरेको छ ।
महामन्त्री बुर्लाकोटीका अनुसार केन्द्रीय समितिले उक्त सहमतिलाई “राष्ट्रका लागि आवश्यक साहसिक निर्णय” को संज्ञा दिँदै यसको प्रभावकारी कार्यान्वयनमा सबै तहका पार्टी संरचनालाई सक्रिय भूमिका खेल्न निर्देशन दिएको छ । बैठकमा देशको समग्र राजनीतिक परिस्थिति, जनतामा बढ्दो असन्तुष्टि र वैकल्पिक राजनीतिको अपेक्षाबारे समेत गम्भीर छलफल भएको थियो ।
रास्वपाले बालेन शाहसँगको सहकार्यलाई केवल राजनीतिक समझदारी मात्र नभई सुशासन, पारदर्शिता र उत्तरदायित्वमा आधारित नयाँ राजनीतिक संस्कृतिको सुरुवातका रूपमा व्याख्या गरेको छ । पार्टीका नेताहरूले यो सहमतिले आम नागरिकमा आशा र भरोसा जगाउने विश्वास व्यक्त गरेका छन् ।
केन्द्रीय समितिको निर्णयसँगै रास्वपा र काठमाडौं महानगरबीच आगामी दिनमा नीति, सुशासन, विकास र सार्वजनिक सेवा सुधारका विषयमा सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ ।



















प्रतिक्रिया