काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्याएको छ । मतदाता शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित आयोगले १० लाख थान नमूना मतपत्र छपाइ गरिरहेको हो ।
आयोगले हिजोदेखि जनक शिक्षा सामग्री केन्द्रमा नमूना मतपत्र छपाइ सुरु गरेको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आजसम्म नमूना मतपत्र छापिसक्ने तयारी रहेको छ भने भोलिदेखि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गरिनेछ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूची बुझाएका ५८ राजनीतिक दलका चुनाव चिह्न समानुपातिक मतपत्रमा समावेश गरिने आयोगले जनाएको छ । समानुपातिक मतपत्र देशभर एकै आकार र डिजाइनमा हुनेछ । आयोगका अनुसार समानुपातिकतर्फ कुल २ करोड ८ लाख ५० हजार थान मतपत्र छापिनेछ ।

जनक शिक्षा सामग्री केन्द्रले दिएको जानकारीअनुसार माघ ९ गतेसम्म समानुपातिक मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसपछि माघ १२ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गर्ने योजना रहेको छ ।
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने कार्यतालिका तय गरिएको छ । प्रत्यक्ष निर्वाचनका लागि करिब २ करोड थान मतपत्र छापिने आयोगले जनाएको छ । यसपटक देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता रहेका छन् । आयोगले कुल मतदाताको संख्याभन्दा ५ देखि १० प्रतिशत बढी मतपत्र छपाइ गर्ने नीति लिएको जनाएको छ ।
मतपत्र छपाइको सम्पूर्ण प्रक्रिया सुरक्षित र गोप्य बनाउन छपाइ स्थलमा नेपाली सेनाद्वारा सुरक्षा व्यवस्था मिलाइएको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने लक्ष्यसहित आयोगले मतपत्र छपाइदेखि वितरणसम्म उच्च सतर्कता अपनाइरहेको जनाएको छ ।



















प्रतिक्रिया