८ चैत्र २०८२, आइतबार | March 22, 2026

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण



महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल सुरु भएको छ । चुरे क्षेत्र ओगटेको यस क्षेत्रमा वन सम्पदा संरक्षण र नदी नियन्त्रण मतदाताका मुख्य माग बनेका छन् ।

जिल्लाको सुदूरउत्तरका बर्दिबास नगरपालिकाका १४ (सबै), गौशाला ३, ४, ५ र ९० समेत जम्मा ३० वडा महोत्तरी-१ प्रतिनिधिसभा क्षेत्रमा पर्छन् । जिल्लाका रातु, जङ्घा, मरहा, टुटेश्वर, ओक्सी, बडहरी, भब्सी र खयरमारासहितका नदीको उद्गमस्थल चुरे भएकाले बर्सेनि बाढीको चपेटामा यस क्षेत्रका बासिन्दा पर्दै आएका छन् ।

यसैगरी जिल्लामा नदीजन्य पदार्थको उत्खनन र वन सम्पदाको दोहनले बाढीले हुने क्षति बढाउँदा यस क्षेत्रका बासिन्दा आजित छन् । त्यसैले यहाँ नदी नियन्त्रण र वन सम्पदाको संरक्षण आम जनताको चासो बनेको यसै क्षेत्रको भङ्गाहा–७ मेघरोलका बासिन्दा चुरेविज्ञ विजयकुमार सिंह बताउँछन् ।

“यहाँको मुख्य दुःख नै चुरेका थुम्का र नदी उत्खनन तथा वन सम्पदाको अतिक्रमण हो, यसले बर्सेनि प्राकृतिक विपत्ति बढाउँदै लगेको छ”, उनी भन्छन्, “यसका लागि नीति निर्माणकै तहमा समस्या छन्, त्यसैले प्रतिनिधिसभाको निर्वाचन अभियानमा दल र उम्मेदवारले यी पक्षमा स्पष्ट दृष्टिकोण राख्नैपर्छ ।”

बर्दिबास, गौशाला र भङ्गाहा नगर क्षेत्रमा अवैधानिक रुपमा सञ्चालित ५० भन्दा बढी क्रसर उद्योगले गर्दै आएका उत्खननबाट आजित छन् । “जथाभावी ठूलठूला खाल्डा बनाएर बालुढुङ्गा निकालिदो छ, बर्सेनि यी खाल्डामा परेर मान्छे मर्दाछन्, कहिल्यै नचेत्ने भए”, भङ्गाहा–४ रामनगरका हीरालाल महतो भन्छन्, “अहिले चुनावका बेला मुख्य रुपले दलहरुबाट यसबारे स्पष्ट धारणा सार्वजनिक गरिनुपर्दछ ।

पूर्वपश्चिम राजमार्गको उत्तर दक्षिणमा पर्ने यो क्षेत्र वर्षा याममा बाढी कटान र हिउँदमा सुक्खाको मारमा पर्दै आएको छ । अधिकांश बलौटे माटो भएको यो क्षेत्रका बासिन्दाको मुख्य पेसा खेतीपाती नै हो । यहाँका सबैजसो नदीको उद्गमस्थल रहँदा पनि सिँचाइको भरपर्दो व्यवस्था नरहँदा यहाँका किसान आकास ताकेर खेती गर्न बाध्य छन् । त्यसैले यहाँका मतदाता दलहरुबाट वन सम्पदाको संरक्षण, नदी नियन्त्रण र सिँचाइ सुविधाका विषयमा दल र उम्मेदवारबाट प्रतिबद्धता खोज्दैछन् ।

क्षेत्र नम्बर–१ मा १३ राजनीतिक दलका र स्वतन्त्र १२ गरी जम्मा २५ जना प्रत्याशी छन् । तीमध्ये स्वतन्त्र तीन र दलका दुईसहित पाँच जना महिला उम्मेदवार छन् । निर्वाचन अभियानमा मतदातासँग भेट्न पुग्ने सबैजसो उम्मेदवारले अहिले यी प्रश्नको सामना गर्नुपरेको मङ्गोल नेशनल अर्गनाइजेसनका उम्मेदवार रमेशकुमार सिंह बताउँछन्। “मतदाताले मुख्य रुपले सिँचाइ, नदी नियन्त्रण र सम्पदाहरुमाथिको अवैध दोहन नियन्त्रणको विषय उठाएका छन्”, सिंह भन्नुहुन्छ, “सबैको साझा सङ्कल्पले यी मुद्दाको समाधान खोजिन पर्दछ ।”

यस क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीका उम्मेदवार दलगत प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसैगरी प्रतिस्पर्धामा सामेल अन्य दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, नेकपा संयुक्त र उज्यालो नेपाल पार्टी छन् । यी दलका १३ अतिरिक्त स्वतन्त्र उम्मेदवार १२ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

निर्वाचन कार्यक्रम तालिकाअनुसार माघ ६ गते मनोनयनपत्र दर्ता गरेर अन्तिम सूचीमा रहेका उम्मेदवारले गत शुक्रबार निर्वाचन चिह्न पाएसँगै मतदातासँगको भेटघाट बढाएका छन् । उम्मेदवार र दलका कार्यकर्ताको सघन आउजाउ बढेसँगै यहाँका बस्तीबस्तीमा चुनावी चहलपहल बढेको छ ।

“भर्खर उम्मेदवार आउन थालेका छन् , हामी यिनीहरु के भनेर भोट माग्दैछन्, ध्यानपूर्वक सुन्दैछौं”, भङ्गाहा-४ रामनगरका ३० वर्षीय रामईश्वर ठाकुर भन्छन्, “भ्रष्टाचार अन्त्य र सुशासनको अनुभूति जनतालाई दिलाउनु मुख्य कुरा हो, यस कुरामा कसले विश्वास दिलाउँछन्, यो हेर्न बाँकी छ ।” भोट माग्न आउँनेहरूसँग नदी र वन सम्पदाको अवैध दोहन नियन्त्रण, तटबन्ध निर्माण र सिँचाइका विषय प्राथमिकता साथ उठाइने उहाँ बताउँछन्।

उम्मेदवार घरआँगनमै आइपुग्दा सर्वसाधारण किसान समयमा बीउबिजन नपाएको, सिँचाइको प्रबन्ध नहुँदा आकासेपानीको भरले खेती गर्नुपरेको र आफ्नो उत्पादन कौडीको मोलमा बेच्नुपरेको दुखेसो सुनाउन चुक्दैनन् । यसरी आफूहरुले समस्या सुनाउँदा सबैजसोले कृषि आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका यसअघिकै चुनावदेखि नै सुन्दै आइएको बर्दिबास–७ मनहरिपुरका ७५ वर्षीय किसान विन्देश्वर यादव बताउँछन् । “धेरैजसोका उही पुरानै कुरा छन्, हामी गर्छौं भन्छन्”, यादव भन्छन्, “सबै आउन्, सबैको कुरा सुनौँ, अनि भोट दिने कुरा निधो गरौंला।”

उम्मेदवार र दलका कार्यकर्ता बस्तीबस्तीमा मतदाता भेट्दै गर्दा अहिले जताततै चुनावी चर्चा बढेको छ । यसपालिको निर्वाचन निश्चित समयावधि पहिले नै हुन लागेको हुँदा धेरै कुरा विचार गरेर मतदान गरिने नयाँ पुस्ताका युवा बताउँछन् । “हाम्रो कसैसँग शत्रुता छैन, तर मुख्य कुरा योग्य उम्मेदवार छनोटको हुनैपर्छ”, गौशाला-१० लक्ष्मीनियाँ बटुवाका २८ वर्षीय विवेक कुशवाहा भन्छन्, “जनताका आवश्यकता बुझ्नसक्ने र विधिको अवलम्बन गर्ने उम्मेदवार चयन गरिनुपर्छ”, आपूmहरु यसपालि नाता, सम्बन्ध, जातपातका कुराबाट पर रही योग्य उम्मेदवार पहिचान गरेर मतदान गर्ने कुशवाहाको भनाइ छ ।

निर्वाचनसँग जोडिएर उम्मेदवार र दलका कार्यकर्ताको बढ्दो चहलपहल र बस्तीबस्तीमा सर्वसाधारणले गर्ने चुनावी आकलनले अहिले महोत्तरी-१ को माहोल चुनावमय बनेको छ । निर्वाचनमा यसक्षेत्रबाटै विगतमा तीन पटक प्रतिनिधित्व गरिसकेका पूर्वमन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिष्ट पार्टीबाट र निवर्तमान प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी नेकपा (एमाले)बाट उम्मेदवार छन् । यसैगरी, नेपाली कांग्रेसबाट मुकेश काफ्ले, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार महता र जनता समाजवादी पार्टीबाट योगनारायण महतो उम्मेदवार छन् ।

निर्वाचन परिणामबारे भविष्यवाणी गर्ने बेला नभएको बुद्धिजीवी बताउँछन् । “दलका १३ र स्वतन्त्र १२ गरी २५ जना उम्मेदवार हुनुहुन्छ, अहिले आम सर्वसाधारण मतदाताले धारणा नै बनाएका देखिँदैन”, सेवा निवृत्त सहसचिव भङ्गाहा-५ सीतापुरका रामबहादुर भुजेल भन्छन् ।

यो क्षेत्रमा एक लाख पाँच हजार ६४६ मतदाता कायम छन् । यहाँ ५९ मतदानस्थलमा १३० मतदान केन्द्रको व्यवस्था भएको जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी बताउँछन् । निर्वाचनका निम्ति सुरक्षा व्यवस्था सुदृढ गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । -रासस

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  १० : ५२ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ