२८ असार २०८३, आइतबार | July 12, 2026

प्रतिनिधिसभा निर्वाचन : झापा-१ मा मतदाता फकाउँदै दलहरु



झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नं १ मा चुनावी सरगर्मी बढेको छ । यहाँका प्रमुख राजनीतिक दलहरू यतिबेला भुइँतहसम्म सङ्गठन चलायमान तुल्याउँदै मतदाता फकाउने अभियानमा केन्द्रित देखिएका छन् ।

यसअघिको निर्वाचनमा यहाँ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वकानुनमन्त्री अग्नि खरेललाई पराजित गर्नुभएको थियो । यस क्षेत्रमा यसपटक १३ राजनीतिक दल र दुई जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

नेपाली कांग्रेसले यसपटक जिल्ला उपसभापति केशवराज पाण्डेलाई चुनावी मैदानमा उतारेको छ । कांग्रेस क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले आगामी फागुन ४ गतेदेखि मात्रै औपचारिक प्रचारप्रसारका कार्यक्रम सुरु गर्ने जानकारी दिए ।

अहिले पार्टीको आन्तरिक सङ्गठनलाई चुस्त र व्यवस्थित बनाउँदै वडा तहसम्म प्रचार कार्यालय खोल्ने तयारीमा जुटिरहेको उल्लेख गर्दै उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीसँगै देश बदल्ने धारणा र योजना बोकेको कारण पार्टीप्रति मतदाताकोे आकर्षण बढिरहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय बौद्धिक व्यक्तित्व रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ । एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीका अनुसार पार्टीले अहिले वडास्तरीय अगुवा कार्यकर्ता भेला र निर्वाचन परिचालन समिति निर्माणलाई तीव्रता दिएको छ । गाउँ–बस्तीमा विकास र समृद्धिको अभियानमा एमाले नै चाहिन्छ भन्ने जनताको बुझाइ रहेको उनले दाबी गरे । कार्कीले युवा, विद्यार्थी, महिला र मजदुरका सुझावका आधारमा चुनावी अभियान सञ्चालन गरिरहेको बताए ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मेचीनगर अध्यक्ष राजन चिमरियाले अहिलेको चुनावलाई जनतामाथि थपिएको ऋणको भारका रूपमा मतदाताले व्याख्या गर्ने गरेको बताए । उनले सुशासन कायम गर्ने प्रतिबद्धतासहित पार्टीले युवा उम्मेदवार अशेष घिमिरेलाई चुनावमा उम्मेदवार बनाएको बताए ।

हाल जनताका समस्या बुझ्ने र राजनीतिक परिस्थितिबारे बुझाउने काममा पार्टीका नेता–कार्यकर्ता व्यस्त रहेको उनले जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस क्षेत्रमा पूर्वसांसद निशा डाँगीलाई उम्मेदवार बनाएको छ । रास्वपा नेता ऋषि तिम्सिनाका अनुसार पार्टीले अहिले वडा–वडाबाट सुझाव सङ्कलन गरी ‘वाचा पत्र’ तयार पार्ने काम गरिरहेको जानकारी दिए ।

मतदाताले पुराना दलहरूबाट भ्रष्टाचार नियन्त्रण हुन नसकेको गुनासो गरिरहेकाले भ्रष्टाचार उन्मूलन र सुशासनलाई नै रास्वपाले मुख्य चुनावी ‘एजेन्डा’ बनाएको उनको भनाइ छ । अरू दलभन्दा फरक भएको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र स्थापना र सङ्घीयता खारेजीको मुद्दा बोकेर घरदैलो सुरु गरेको जनाएको छ ।

राप्रपा केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले ठूला दलप्रति जनताको वितृष्णा बढ्दो रहेकाले राप्रपालाई जनताले विकल्पका रूपमा हेरेको दाबी गरे। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल एक लाख ३१ हजार ६७ मतदाता रहेका छन् । त्ससमा ६५ हजार ८५८ पुरुष र ६५ हजार २९ महिला छन् । यसपटक थपिएका १० हजार ६९२ नयाँ मतदातालाई सबै दलले निर्णायक शक्तिका रूपमा हेरेका छन् ।

झापा निर्वाचन क्षेत्र नं १ मा मेचीनगर नगरपालिकाका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ नं गरी चार वडा र भद्रपुर नगरपालिकाको ९ र १० गरी दुई वडा समेटिएको छ । यहाँ ४३ मतदानस्थल र १४५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

उम्मेदवारले औपचारिक रूपमा भोट माग्नका लागि निर्वाचन आयोगले तोकिदिएको समय आउन अझै केही दिन बाँकी छ । तथापि दल तथा उम्मेदवार भित्री रूपमा मतदाता रिझाउने र सङ्गठन बलियो बनाउने काममा व्यस्त देखिन्छन् ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ३ : ४२ बजे

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको