बुटवल । आराध्यदेव भगवान् शिवको विशेष पूजा-आराधनासहित महाशिवरात्री पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर पूजा-अर्चना तथा व्रत बसेका छन् ।
व्रतमध्ये सर्वोत्तम मानिने महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गर्दै दूध, धतुरो र बेलपत्र चढाउने परम्परा छ । यस दिन उपवास बस्दै रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने धार्मिक विश्वास रहिआएको छ ।
रूपन्देही र पाल्पाको सीमामा अवस्थित सिद्धबाबा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको उल्लेख्य घुइँचो लागेको छ । महाशिवरात्रि पर्वको अवसरमा देशका विभिन्न स्थानका साथै छिमेकी राष्ट्र भारतबाट समेत तीर्थयात्री शिवधाम पुगेका छन् ।
सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनका अनुसार महाशिवरात्रीको अवसरमा शिव पूजन, रुद्राभिषेक तथा अखण्ड हरिकीर्तन कार्यक्रम आयोजना गरिएको छ । विशेषगरी वृद्धवृद्धा, गर्भवती, अशक्त तथा असहाय व्यक्तिलाई प्राथमिकताका साथ मूल मन्दिरमै पुगेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । दैनिक पूजापाठ सम्पन्न भएपछि बिहान ४ बजेदेखि सर्वसाधारणका लागि दर्शन खुला गरिएको समितिले जनाएको छ ।
भक्तजनको सुरक्षा र व्यवस्थापनका लागि करिब ५० जना सुरक्षाकर्मी, २०० स्वयंसेवक तथा १८ वटा सिसी क्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको छ । साथै सरसफाइ, शौचालय, खानेपानी, पार्किङ, भण्डारा तथा जुत्ताचप्पल राख्ने स्थानको उचित प्रबन्ध गरिएको छ ।
मेला संयोजक तोया लम्सालका अनुसार गत वर्ष महाशिवरात्रिमा करिब ४० हजार भक्तजनले दर्शन गरेका थिए भने यस वर्ष करिब ६० हजार भक्तजन आउने अनुमान गरिएको छ। लाइन व्यवस्थापनलाई सहज बनाउन टोकन प्रणाली लागू गरिएको छ । बिहान साढे ३ बजेदेखि मन्दिरको मुख्य द्वार खुला गरिएकोमा बिहान ९:०० बजेसम्म करिब २० हजार भक्तजनले दर्शन गरिसकेको उनले जानकारी दिए ।
दर्शनार्थीको सुविधाका लागि दुई वटा निःशुल्क र नौ वटा सशुल्क बस सेवा सञ्चालन गरिएको छ । यी बसहरू बुटवलका योगीकुटी, कालिकानगर, राजमार्ग चौराहा, अस्पताल लाइन, देवीनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा दोभान-झुम्सा क्षेत्रबाट सञ्चालन भएका छन् ।
प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेका अनुसार यस वर्ष दर्शनार्थीलाई सिद्धबाबा सुरुङमार्गभित्रै लाइन व्यवस्थापन गरिएको छ, जसले गर्दा सिद्धार्थ राजमार्गमा सवारी आवागमन प्रभावित नहुने अपेक्षा गरिएको छ । समितिले भक्तजनका लागि निःशुल्क प्रसाद वितरण तथा भण्डाराको व्यवस्था समेत गरेको जनाएको छ ।
फोटो फिचर






























प्रतिक्रिया