५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

नेपालको अन्तिम चुनौती आज, विश्वकपको समापन खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा



काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।

समूह ‘सी’बाट सुपर ८ मा प्रवेश गर्ने दुई टोलीका रूपमा इंग्ल्यान्ड र वेस्ट इन्डिज यसअघि नै छनोट भइसकेका छन् । यससँगै नेपाल र स्कटल्यान्डबीचको खेल प्रतियोगिताको औपचारिकतामात्र भए पनि दुवै टोली जितसहित प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा रहेका छन् ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपालले यसअघि खेलेका तीनै खेलमा पराजय व्यहोरेको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा डेब्यु टोली इटालीसँग हार्न पुग्यो । तेस्रो खेलमा भने वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै नेपाल जितविहीन रह्यो ।

लगातार हारका बाबजुद नेपाली टोली अन्तिम खेलमा जित निकाल्दै सकारात्मक सन्देश दिने लक्ष्यमा रहेको छ । नेपाल १२ वर्षपछि विश्वकपमा सहभागी भएको हो र यस संस्करणमा पहिलो जित निकाल्ने योजनामा मैदान उत्रिनेछ ।

स्कटल्यान्डले भने प्रतियोगिताको सुरुआत वेस्ट इन्डिजसँग ३५ रनको हारबाट गरेको थियो । त्यसपछि इटालीलाई ७३ रनले पराजित गर्दै पुनरागमन गरे पनि पछिल्लो खेलमा इंग्ल्यान्डसँग ५ विकेटले पराजित भएको थियो । इंग्ल्यान्डले इटालीलाई पराजित गरेसँगै स्कटल्यान्डको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको हो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र स्कटल्यान्डबीच हालसम्म दुई खेल भएका छन्, जसमा दुवै टोलीले समान एक-एक जित हासिल गरेका छन् । आजको खेलले दुवै टोलीका लागि प्रतिष्ठाको प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ९ : ३९ बजे

काठमाडौँमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै ठाउँमा मतपत्र पुग्ने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा