१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

रुपन्देहीमा यस्तो छ निर्वाचनको तयारी



लुम्बिनी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी रुपन्देहीमा पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित चारवटै सुरक्षा निकायले आ-आफ्नो जिम्मेवारी अन्तिम चरणमा पुर्याएका छन् ।

निर्वाचनमा खटिने कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट यसअघि नै नियुक्तिपत्र बुझेको र आजबाट निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुग्ने मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

जिल्लाका निर्वाचन क्षेत्रका मतदान केन्द्रमा पुग्न सहज यातायातको सुविधा भएकाले आज सामग्रीसहित कर्मचारी केन्द्रमा पुग्नेगरी व्यवस्था मिलाइएको उनले बताए । “अब सामान्य छिटफुट कामबाहेक निर्वाचनका सबै तयारी पूरा भयो”, उनले भने, “अहिलेसम्मको अवस्थामा निर्वाचनका लागि सुरक्षालगायत सबै व्यवस्थापन राम्रो भएको छ ।”

यस्तै राजनीतिक दल तथा उम्मेदवारहरूले पनि निर्वाचनलक्षित प्रचारप्रसार कार्यक्रम अब अन्तिम चरणमा पुर्याएका छन् । निर्वाचनको मतदानभन्दा तीन दिनअघि फागुन १८ गते राति १२ः०० बजेदेखि मौन अवधि लागू हुने भएकाले राजनीतिक दल र स्वतन्त्रतर्फका उम्मेदवारहरू यतिबेला मतदाताका घरदैलो पुगेर भेटघाट र आफ्ना एजेन्डा प्रस्तुत गर्दै मत माग्ने अभियानमा सक्रिय छन् । हालसम्म जिल्लामा चुनावी गतिविधि शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

दलहरूबीच आवेश, उत्तेजना वा आचारसंहिताविरुद्धको अवस्था नदेखिएको प्रशासनले जनाएको छ । सामान्य मौखिक उजुरीबाहेक आचारसंहिताको पूर्ण रूपमा पालना गरेको बताइएको छ । मुख्य निर्वाचन अधिकृत बस्नेतले भने, “आचारसंहिता पालनामा जिल्लाका प्रायः सबै निर्वाचन क्षेत्रमा ७० प्रतिशत कायम भएको छ ।”

निर्वाचनलाई शान्तिपूर्ण बनाउन तीन तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको तीन तहको सुरक्षा घेरा बनाइ परिचालन गरिने छ । सुरक्षाका हिसाबले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका मतदान केन्द्रको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार रुपन्देहीमा लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता छन् । रुपन्देहीमा कुल छ लाख ७२ हजार ५२३ जना मतदाता कायम भएका छन् । जसमध्ये तीन लाख ४६ हजार २०३ पुरूष र तीन लाख २६ हजार ३११ जना महिला मतदाता छन् ।

प्रतिनिधिसभातर्फ रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र छन् । रुपन्देही क्षेत्र नं १ मा एक लाख ४६ हजार ८२४, २ मा एक लाख ३५ हजार ५०, ३ मा एक लाख ४० हजार ३५, ४ मा एक लाख १६ हजार १७२ र क्षेत्र नं ५ मा एक लाख ३४ हजार ४४२ जना मतदाता छन् । रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने निर्वाचन आयोगले व्यवस्था गरेको छ ।

सीमानाका तीन दिन बन्द हुने

निर्वाचनलाई लक्षित रुपन्देहीका नेपाल-भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् । रुपन्देही जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमानाका तीन दिन बन्द रहने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले जारी गरेको सूचनामा यही फागुन १८ गते सोमबार राति १२ः०० देखि फागुन २१ गते बिहीबार राति १२ः०० बजेसम्म बन्द रहने जनाइएको छ ।

यसका साथै फागुन २० गते बुधबार राति १२ः०० देखि २१ गते बिहीबार मतदानकार्य सम्पन्न नहुन्जेलसम्म एम्बुलेन्स, दुग्धका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववहान, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारीसाधनबाहेक अन्य सवारीसाधन समेत सञ्चालनमा निषेध गरिएको सूचनामा जनाइएको छ ।

यस्तै प्रशासनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

होलीलाई मर्यादित बनाउन आग्रह

रुपन्देही जिल्ला प्रशासन कार्यालयले होली/फागु पर्व अनुशासित र मर्यादिन ढङ्गले मनाउन अपिल गरेको छ । प्रशासनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र होली/फागु पर्व परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता तथा निर्वाचन आचारसंहिता परिपालनलाई ध्यानमा राखी होली पर्व मनाउँदा आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ ।

होली/फागु पर्वलाई धार्मिक एवं सांस्कृतिक दृष्टिले मर्यादित, सभ्य र अनुशासित ढङ्गले मनाउनुका साथै निर्वाचनको सुरक्षा र निर्वाचन आचारसंहिता पालना गर्न÷गराउन जिल्ला सुरक्षा समिति, सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, धार्मिक सङ्घसंस्था, नागरिक तथा सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।

होली पर्व मनाउने क्रममा कसैले पनि कानुनविपरीतका कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुने जनाइएको छ । प्रमुख निर्वाचन अधिकृत बस्नेतले यसपटकको होली पर्व सामान्य रूपमा घरमै बसेर मनाउन, कुनै पनि किसिमको साङ्गीतिक कार्यक्रम नगर्नेगरी पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा निकायलाई अनुरोध गरिएको बताए ।

छ हजार जनशक्ति परिचालन

जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा चार हजार ३९२ वटा स्थायी र चारवटा अस्थायी मतदान केन्द्र कायम गरेर कर्मचारी जनशक्ति खटाइसकिएको प्रमुख निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । यसका लागि जिल्लामा चार हजार ४१६ कर्मचारी र झन्डै एक हजार ६०० स्वयंसेवक गरी छ हजार बढी जनशक्ति परिचालन भएको जानकारी दिए ।

मतदानको बदर सङ्ख्या घटाउनका लागि जिल्लामा मतदाता शिक्षालाई प्रभावकारी बनाइएको छ । निर्वाचन कार्यालयका कर्मचारीहरू नमूना मतपत्र लिएर वृद्धवृद्धा र शिक्षाको पहुँच कम भएका मतदाताका घरदैलोमा पुगी मतपत्र पट्याउने र मतदान गर्ने तरिका सिकाइरहेका छन् । रूपन्देहीका पाँच निर्वाचन क्षेत्रमा राजनीतिक दलका ६३, स्वतन्त्र ९२ गरी जम्मा १५५ उम्मेदवार अहिले चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ५० बजे

बोले पूर्णबहादुर खड्का : पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । निर्वाचनको मिति आउन ४ दिन बाँकी रहँदा नेपाली

पाँच हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

अदानचुली । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए , २१ ले मात्र खोले

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१