१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

स्थायित्व, सुशासन र समृद्धिका लागि ‘तारा’मा मतदान गर्न आग्रह



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अतिवाद विरुद्ध नेकपाका उम्मेदवारलाई मतदानगर्न जनतासँग अपील गरेका छन् ।

फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा आम जनसमुदायलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै प्रचण्डले यस्तो अपील गरेका हुन् । एकातर्फ जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता र अनिश्चिय तर्फ धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल–विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा भएको उनको भनाइ छ।

दुई प्रकारका अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै भएको उल्लेख गर्दै उनले वाम जनमतलाई एकताबद्ध हुन आह्वान गरेका छन्। अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता रहेको बताए ।

प्रचण्डले सडक र सदन दुवैबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएका कारण कुशासनको फल स्वरुप देश अराजकताउन्मुख बनेको बताए ।

प्रचण्डले हाल नेपाली कम्युनिस्ट पार्टीका रूपमा पुनर्गठनको प्रक्रिया अघि बढाइएको र पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरू मिलेर नयाँ र देशभक्त शक्ति निर्माण भएको बताए। नेकपा विभाजनबाट एकता, आरोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्किएको उनले बताए । उनले नेपाली कम्युनिष्ट पार्टी बाम आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) समेत अन्ततः वाम आन्दोलनको केन्द्र नेकपामै मिसिनुपर्ने बताए ।

आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको उनले उल्लेख गरेका छन्। आफु र आफ्नो पार्टी लोकतन्त्र कमजोर पार्ने वा व्यवस्था उल्ट्याउने प्रयासविरुद्ध सधैं उभिएको उल्लेख गर्दै उनले समावेशिता, महिला नेतृत्व, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेका छन् ।

उनले महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई अधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनका लागि मतदान गर्न अपील गरे । भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेन्डा रहेको उनले बताए ।

“हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,” भन्दै प्रचण्डले परिवर्तनको निरन्तरता, सामाजिक न्याय र समृद्धिका लागि आफ्नो नेतृत्वलाई समर्थन गर्न आग्रह गरेका छन् ।

प्रचण्डले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेका छन् । सम्बोधनका क्रममा उनले जेनजी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान उल्लेख गरेका छन्। देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्वपूर्ण भूमिका खेलेको बताउँदै त्यसको मूल्याङ्कन इतिहासले गर्ने उनले बताएका छन् ।

सरकारको नेतृत्वमा रहँदा सुशासन सुरु गरिएको, विधिको शासन स्थापित गर्ने प्रयास गरिएको तथा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको उनले जिकिर गरेका छन् । सो समयमा सुशासनबाट आत्तालिएका शक्तिहरूले संसदका पहिलो र दोस्रो दललाई एकै ठाउँमा उभ्याएको आरोप पनि उनले लगाएका छन् ।

प्रतिपक्षमा रहँदा पनि कुशासन, दम्भ र अहंकारविरुद्ध निरन्तर संघर्ष गरेको उल्लेख गर्दै उहाँले यस निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मत दिने बताएका छन् ।

निर्वाचनमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको उनले बताएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ४ : २६ बजे

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ