काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन भारतसँग कूटनीतिक पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
सोमबार प्रधानमन्त्री शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग गरेको छलफलमा सहभागी पुनले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक हवाई मार्गको विषयमा भारतसँग तत्काल संवाद अघि बढाउन ढिलाइ गर्न नहुने बताएका हुन्।
पुनले भैरहवा विमानस्थलमा श्रम डेस्क स्थापना गरी नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सके पर्यटन र वैदेशिक रोजगारी दुवै क्षेत्रमा ठूलो सम्भावना खुल्ने उल्लेख गरे। “भैरहवा विमानस्थल सञ्चालन गरेर पर्यटन क्षेत्रको ढोका खोल्न अब ढिला गर्नु हुँदैन,” पुनले भने, “अन्तर्राष्ट्रिय हवाई मार्गका लागि भारतसँग कूटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।”
छलफलका क्रममा पुनले लुम्बिनी प्रदेशका केही महत्वपूर्ण पूर्वाधार आयोजना अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए। उनले दाङको कोइलाबासबाट रोल्पा र रुकुम हुँदै डोल्पासम्म जोड्ने शहीद मार्ग निर्माणलाई तीव्रता दिन माग गर्दै उक्त सडक चीन सीमासम्म पुग्ने भएकाले यसको रणनीतिक महत्व रहेको बताए।
त्यसैगरी रोल्पाको माडी बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अघि बढाउन तथा आफू अर्थमन्त्री हुँदा बजेटमा समावेश गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनमा लैजानुपर्नेमा पनि उनले जोड दिएका थिए।
उनका अनुसार भरतपुर, बुटवल र पोखरालाई केन्द्र बनाएर निजी क्षेत्रसँगको साझेदारीमा त्रिभुज परियोजना अघि बढाउन सके नयाँ आर्थिक केन्द्रको विकास भई देशको अर्थतन्त्रमा ‘गेम चेन्जर’ बन्न सक्ने सम्भावना छ।
पुनले लुम्बिनी प्रदेशमा कृषि उत्पादनको ठूलो सम्भावना भएकाले सिँचाइ, मल, बिउ, आधुनिक कृषि औजार र बजार व्यवस्थापनलाई समेटेर एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई सुझाव दिएका छन्। साथै देशभरका १६५ निर्वाचन क्षेत्रको विकासलाई ध्यानमा राख्दै सांसदको सिफारिसमा केही आयोजना छुट्याउने पुरानो अभ्यासलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।


















प्रतिक्रिया