काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ निलम्बनमा परेका छन्।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी सभापति गगन थापाबारे दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि कारबाही गरेको हो।
अनुशासन समितिले २०८३ वैशाख ७ गतेको निर्णयअनुसार तामाङसँग अनुशासन उल्लंघनबारे स्पष्टीकरण मागेको थियो। उनले दिएको जवाफमा पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यस्तो मनसाय नरहेको बताएका थिए।
तर समितिले वैशाख ८ गते उनले पेश गरेको स्पष्टीकरण प्रारम्भिक रूपमा सन्तोषजनक र चित्तबुझ्दो नभएको निष्कर्ष निकालेको थियो। समितिले उनीमाथि थप अनुसन्धान आवश्यक देखिएकाले उनलाई पदमै राख्दा अनुसन्धान प्रभावित हुन सक्ने ठहर गर्दै पदबाट हटाएको हो ।
पार्टी विधान २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली २०७६ को नियम २८ (३) अनुसार अन्तिम निर्णय नभएसम्मका लागि तामाङलाई रामेछाप जिल्ला सभापतिको जिम्मेवारीबाट निलम्बन गरिएको समितिले जनाएको छ ।
अब समितिले थप अनुसन्धानपछि अन्तिम निर्णय लिने जनाएको छ।


















प्रतिक्रिया